जैविक विषादी तथा पञ्च महाकव्य हेम्जामा विक्रीवितरण शुरु


सन्देश श्रेष्ठ
पोखरा, २२ भदौ
कास्कीको हेम्जास्थित मिलनचोकमा रहेको कृषि सहकारी पसलले जैविक विषादी तथा पञ्च महाकव्य आज (शनिबार) विक्री शुरु गरेको छ । देवीस्थान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उक्त कृषि सहकारी पसलले वनस्पति जैविक विषादी तथा पञ्च महाकव्य विक्रीका लागि राख्न शुरु गरेको जैविक विषादी उपसमितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै वातावरणमा पनि नकारात्मक असर पार्ने भएकाले यसको कमी ल्याउनको लागि जैविक विषादी विकल्पका रुपमा विक्रीका लागि राखिएको बाँस्तोलाले बताउनुभयो । जैविक विषादीको प्रवद्र्धन गर्दै जैविक विषादीको प्रयोगमा कृषकलाई अभ्यस्त बनाएर वातावरण जोगाउँदै मानव स्वास्थ्यमा खेलवाड गर्ने रासायनिक विषादीको न्यूनिकरण गर्नु आफूहरुको प्रमुख उद्धेश्य रहेको उहाँको भनाइ छ ।

उक्त जैविक विषादी गाउँघरमा खेर गएको बोटविरुवाहरु खिर्रो, असुरो, पाती, वनमासा, सिस्नो, केतुकी, सिउँडी, खुर्सानीको धुलो, बेसार, गहुँत र पानी मिसाएर बनाईएको संयोजक बाँस्तोलाले बताउनुभयो । पञ्च महाकव्य भने गाई वस्तुबाट उत्पादित गोबर, गहुँत, घ्यू, दुध, दही, नून र मर्चाको समिश्रण गरेर बनाइने गरिन्छ । जैविक विषादी तथा पञ्च महाकव्य बनाउनको लागि कृषि सेवा केन्द्र हेमजाका प्रमुख गुरुप्रसाद अर्यालले भूमिका खेल्दै आउनुभएको छ ।

जैविक विषादीको प्रयोगले विरुवालाई रोग लाग्नबाट बचाउँदै त्यसमा लागेका किरा भगाउने कार्य गर्दछ भने पञ्च महाकव्यले विरुवालाई स्वस्थ, हरियो शक्ति दिदै ढुसी र भाइरसजन्य रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्ने क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका वाली संरक्षण अधिकृत शिवराज वरालले बताउनुभयो ।

सानो विरुवाको लागि १ लिटरको जैविक विषादी तथा पञ्च महाकव्यमा ८ देखी १० लिटर पानी मिसाएर छर्कनु पर्दछ भने ठूलो विरुवाको लागि सोही परिमाणमा ६ देखी ८ लिटर पानी मिसाएर छर्किनुपर्ने अधिकृत वरालले बताउनुभयो ।

हेम्जा कृषि सहकारी पसलमा उक्त जैविक विषादी तथा पञ्चमहाकव्य सुपथ मुल्यमा विक्री वितरण गरिने संयोजक बाँस्तोलाले बताउनुभयो ।