दलहरुबीच विवाद,एमाओवादी कार्यतालिका संशोधन पक्षमा कांग्रेस र एमाले विपक्षमा


काठमाडौ, भाद्र २१-

संबिधान निर्माणको कार्यतालिकाबारे दलहरुबीच विवाद देखिएको छ । सिंहदरबारमा वैठकमा एमाओवादी कार्यतालिका संशोधन गर्ने पक्षमा देखिए भने कांग्रेस र एमाले संशोधनको विपक्षमा उभिए ।

समाधानको जिम्मेवारी पाएको संबिधान सभाको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले तीन दलका शीर्ष नेताहरुसँग कार्यतालिकाबारे छलफल गरेको थियो ।

बैठकमा एमाओवादी नेताहरुले सम्वाद समितिको प्रतिवेदन बुझाउने म्याद केही दिन थप्नुपर्ने बताएका थिए भने एमाले नेता केपी ओलीले आजै साँझसम्म जसरी पनि समितिले प्रतिवेदन बुझाउनुपर्ने भन्दै दबाव दिएका थिए ।
डा. बाबुराम भट्टराईको सभापतित्वमा रहेको सम्वाद समितिले सहमति र असहमतिको प्रतिवेदन बुझाउने अन्तिम म्याद आजै साँझ सकिँदैछ । आज बुझाइएको प्रतिवेदन असोज १ गतेभित्र संविधान लेखनका लागि मस्यौदा समितिमा पठाउनुपर्ने कार्यसूचि छ ।
स्रोतका अनुसार बैठकमा वैद्य माओवादीसँग सहमति गर्न केही दिन लाग्ने भएकाले म्याद थप गर्ने आग्रहसहितको पत्र सम्वाद समितिमार्फत संविधानसभामा पठाऔं भन्ने प्रस्ताव एमाओवादीले अघि सारेको थियो ।
एमाले र कांग्रेसका नेताले भने यो यो विषयमा सहमति भयो र यो विषयमा भएन भनेर आजै लेखी पठाउन सभापति डा. भट्टराईलाई दबाव दिएका छन् ।
शीर्ष नेताको बैठक सहमतिमा नपुगे पनि तत्काल सम्वाद समितिको बैठक डाक्न तीनै दल सहमत भएका छन् ।