ट्याक्सी व्यवसाय समिति पोखरामा अनियमितता र भ्रष्टाचार भएको आरोप


पोखरा, १९  भदौँ-

ट्याक्सी व्यवसाय समिति पोखरामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोप सम्बन्धित व्यवसायीहरुले लगाएका छन् । समितिका अध्यक्ष गान्धीराज गिरीमाथि पटक–पटक नेतृत्वमा रहेर संस्थाका नाममा आर्थिक अनियमितता गरेको व्यवसायीहरुल लगाएका हुन् ।

अध्यक्ष गिरीले ठूलो रकम अनियमितता र भ्रष्टाचार गरेको भन्दै व्यवसायीहरुले हालै अख्तियारमा उजुरी समेत दिएका छन् । समितिमा चार कार्यकालसम्म अध्यक्ष भएका गिरीले पुराना गाडी विस्थापन गर्ने भन्दै त्यसो नगरी ६३ वटा नयाँ ट्याक्सी भित्र्याएको र रुट मिलाएबापत रकम अनियमितता गरेको व्यवसायीको आरोप छ ।

प्रतिगाडी साढे चार लाख रुपैयाँका दरले दुई करोड ८३ लाख ५० हजार रुपैयाँको रुटअन्तर्गतको रकमको कुनै बिल भौचर नराखी खर्च गरेको अभियोगपत्रमा उल्लिखित छ । यस अतिरिक्त अध्यक्ष गिरीमाथि समितिका नाममा ट्याक्सी÷भ्यान÷माइक्रो बसमा लोगो, अतिथि सत्कार, जलपान, भ्रमण खर्च, सवारीसाधन भाडा, इन्धन परिवहन, विविध खर्चमा करोडौँ रुपैयाँ खर्च गरेको कीर्ते माइन्युट तयार गरेको आरोप छ ।

पोखरामा सञ्चालित ट्याक्सीलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले २०४० सालमा समिति स्थापना भएको थियो । बेला बेलामा ट्याक्सीमा मिटर जडानको विषयलाई लिएर समिति विवादमा आउने गरेको छ ।