नयाँ संविधानमा भ्रष्टाचारीले आजीवन चुनाव लड्न नपाउने व्यवस्था


काठमाडौं, १८ भदौ- अब बन्ने नयाँ संविधानमा भ्रष्टाचारीले आजीवन चुनाव लड्न नपाउने व्यवस्था राख्न दलहरु सहमत भएका छन् ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बुधबारको बैठकले भ्रष्टाचारीलाई आजीवन उम्मेदवार बन्न प्रतिवन्ध लगाउने सहमति जुटेको सभापति डा. बाबुराम भट्टराईले बताए । नैतिक पतन र गम्भीर फौजदारी अपराधमा संलग्न भएको प्रमाणित भएको व्यक्तिले उम्मेदवार हुन नपाउनेमा बैठकमा सहमति भएको छ ।विद्यमान कानुनमा अदालतबाट भ्रष्टाचारी ठहर भएका व्यक्तिले ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

बैठकपछि समितिका सभापति भट्टराईले भदौ २१ गतेसम्म सबै शीर्ष नेतालाई सार्वजनीक कार्यक्रम स्थगित गरेर सहमतिमा जुट्न आग्रह गरेका छन्।संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने अन्तिम समय भएकाले उनले सो समयसम्म अन्य काम स्थगित गरेर सहमति गर्न मात्र केन्द्रीत हुन् आग्रह गरेका हुन्। सहमति जुटाउनको लागि बिहीबार ८ बजे देखि सिंहदरबारमा दलहरुको बीचमा बैठक बस्दैछ। ८ बजे तीन शीर्ष राजनीनिक दल त्यसपछि मधेशवादी दल र साँझ नेकपा-माओवादी लगायतका दलहरुसँग छलफल गर्ने समितिको कार्यक्रम रहेको छ।