भारतमा एक नेपाली बालिकाको बलात्कार पछि हत्या


 नयाँ दिल्ली, भदौं १८-

भारतको हिमान्चल प्रदेशमा एक नेपाली बालिकाको बलात्कार पछि हत्या भएको छ । कुल्लु, केलुङबाट एकसाता अघि हराएकी ९ वर्षीया बालिकाको शव सोमबार फेला परेपछि गरिएको पोष्टमार्टमा उनको बलात्कार र त्यसपछि हत्या भएको पुष्टि भएको छ । दैलेख, पखनाथका टेकबहादुर थापाकी कान्छी छोरी बिमलाको बलात्कार र त्यसपछि हत्या भएको त्यहाँको प्रहरीले जनाएको छ । 

हिमान्चलमा ज्यालादारी काम गर्दै आएका दैलेख, पखनाथ गाउँका  थापाकी कान्छी छोरी बिमलाको बलात्कारका कारण निधन भएको पुष्टी भएपछि स्थानीय नेपालीले प्रहरी-प्रशासनसमक्ष घटनामाथि तत्काल अनुसन्धान गर्न दवाव दिएका छन् ।

कुल्लुस्थित अखिल भारत नेपाली एकता समाज (मुल प्रवाह)का सदस्य पेशल बुढाथोकीका अनुसार सामान्य श्रमिक र ठेकेदार काम गर्दै आएका थापा परिवारले गत भदौ ९ गते छोरी हराएपछि खोजबीन गर्दै आएका थिए ।

उनको शव सोमबार अपरान्ह स्थानीय कर्तन खोलाको पुलमुनी भेटिएको थियो ।