पुरस्कारमा भोटिङको व्यवस्था राख्न नहुने ः पराजुली


पोखरा, १५ भदौ

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्ष प्रजापति पराजुलीले वास्तविक प्रतिभालाइ पुरस्कार दिने हो भने कुनै पनि पुरस्कारमा भोटिङको व्यवस्था राख्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाण्डौले भाद्र २० गते वितरण गर्ने लोक दोहोरी अवार्ड कार्यक्रमको बारेमा जानकारी दिने शनिबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भोटिङका मार्फत विजेता बनाउदा पैसाको भरमा विजेता बन्ने र वास्तविक प्रतिभा पराजित हुने क्रम बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपानेले दोहोरी गीतको क्षेत्रमा प्रत्यक्ष रुपमा गीत गाउने प्रतियोगीको अभाव हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालले अवार्डका लागि अवार्ड वितरण गरिने परीपाठीको अन्त्यको लागि आफुहरुले अवार्ड वितरण गर्न लागेको बताउनुभयो ।पचास प्रतिशत भोटिङ र पचास प्रतिशत जुरीको निर्णयको आधारमा उत्कृष्ट छनोट गरिने उहाँले बतानुभयो ।

प्रतियोगीतामा १९ विधाका लागि ९५ जना कलाकारका विच प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो ।तेस्रो पटक हुन लागेको अवार्ड वितरण कार्यक्रममा उत्कृष्ट एल्बम, उत्कृष्ट गायक, उत्कृष्ट गायीका, उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट नव गायक, उत्कृष्ट नव गायीका, उत्कृष्ट नायक, उत्कृष्ट नायीका, उत्कृष्ट निर्देशक, उत्कृष्ट छायाकार, उत्कृष्ट रेकडिस्ट, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट क्यामेरामेन लगायतका विधामा अवार्ड वितरण गरिने जनाईएको छ ।लाईफ टाईम अचिभमेन्ट अवार्डबाट जनकवि केशरी धर्मराज थापा र सदाबहार गीत तर्फ सिन्धुली गढी घुमेर हेर्दा लाई पुरस्कार वितरण गरिने आयोजकले जनाएका छन् ।

अवार्डको मनोनयनमा पोखरेली गायक तारापति सुवेदी, जिवन दाहाल र तारानाथ आर्चाय परेका छन् ।राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जिवन दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठान गण्डकीका उपाध्यक्ष शंकर विरहि गुरुङ र महासचिव घनश्याम रिजालले समेत बोल्नुभएको थियो ।