सञ्जालद्वारा बाढी पहिरोबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग


पोखरा, भदौ १२ गते

शान्तिका लागि नागरिक समाजको सञ्जाल ले मुलुकका विभिन्न स्थानमा गएको बाढी,पहिरोबाट पीडित परिवारलाई तत्काल प्रभावकारी रुपले राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

सञ्जालको सचिवालय इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा विहीबार बसेको सञ्जालको नियमित बैठकले मुलुकमा बाढी, पहिरोबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल आवश्यक राहत सुविधा उपलब्ध गराउन माग गरेको हो । बैठकले पुम्दीभुम्दी गाविस अवस्थित विश्व शान्ति स्तुपा पहिरोको जोखिममा परेकाले तत्काल संरक्षणको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

मजदुर हड्तालका कारण कान्तिपुर दैनिक पत्रिका विगत आठ दिनदेखि वितरणमा भएको अवरोधप्रति ध्यानाकर्षण भएको जनाउदै श्रमजीवी ऐन बमोजिमको पारिश्रमिक लागु गर्नु पर्ने र नागरिकको सूचनाको हकलाई अवरोध गर्न नहुनेमा जोड दिदै आन्दोलनरत पक्ष र व्यवस्थापन पक्षलाई वार्ता र सम्वादका माध्यमद्वारा समस्या समाधान गर्न आग्रह गरेको छ ।

यस्तै वेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस भदौ १३ देखि १४ गतेसम्म विभिन्न कार्यक्रमसहित विभिन्न संघ संस्थासँगको समन्वयमा सम्पन्न गर्ने निर्णय गरेको छ । सञ्जालको ११ औं साधारणसभा भदौ २९ गते आयोजना गर्ने निर्णय समेत गरेको छ ।