पोखरामा पनि तिजको रौनक, विभिन्न ठाउँमा तिज गीत प्रतियोगिता आयोजना


पोखरा, १२ भदौ

हरितालिका तिजको अवसरमा परोपकार सर्वेश्वर नारी समुहले आज पोखराको गैह्रापाटनमा रहेको सर्वेश्वर मन्दिरमा खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको छ ।

मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको माननिय न्यायधिस सारङ्गा सुवेदी कोइरालाले गीत गाएर उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै कोइरालाले नेपाली नारीहरुको महान् चाड हरितालिका तिजले सम्पूर्ण महिलाहरुलाई एकतामा बाँध्ने बताउँदै तिजलाई सबैले मिलेर मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सर्वेश्वर युवा क्लबका अध्यक्ष पुष्पराज कोइराला, सर्वेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद कोइराला, पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारी लगायतले तिजको महत्वको बारेमा बोल्नुभएको थियो ।

सोही अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारीलाई समुहका अध्यक्ष भगवती – लता ) कोइरालाले खादा र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

प्रतियोगितामा प्रतियोगीहरुले आ—आफ्ना गीतहरु प्रस्तुत गरिरहेका छन््् । प्रतियोगितामा मुख्य निर्णायकमा वरिष्ठ लोकगायक प्रजापति पराजुली हुनुहुन्छ भने अन्य सदस्यहरुमा सविता कोइराला, लक्ष्मी सुवेदी र श्रीराम अधिकारी हुनुहुन्छ ।

परोपकार सर्वेश्वर नारी समुहका अध्यक्ष भगवती – लता ) कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अम्बिका कोइरालाले गर्नुभएको छ ।

यस्तै वडा नं. १२ र १३ का आमा तथा दिदीबहिनी समुहले आज माछापोखरी तिज गीत प्रतियोगिताको आयोजना गरेको छ भने आदर्श समाज सामाजिक संस्थाले पोखरा १२ रानीपौवा पुरानोधारामा तिज गीत प्रतियोगिताको आयोजना गरेको छ ।

त्यस्तै कालिका उच्च मावि ले पनि हरितालिका तिजको अवसरमा तथा आफ्नो स्वर्णमहोत्सवको अवसरमा आज विद्यालय प्राङ्गण रामबजारमा खुल्ला तिज गित प्रतियोगिताको आयोजना गरेको छ कास्कीको कालिका गाविसमा कालिका युवा क्लबले तिज गीतको आयोजना गरेको छ ।