एनआरएनए स्पेनको अध्यक्षमा कोइराला, विधानबारे विवाद के- हो ?


बार्सिलोना। एनआरएनए स्पेनको आठौँ राष्ट्रिय महाधिवेशनबाट पेशलकुमार कोइरालाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भए पनि विधान मिचिएको आरोप लागेको छ। राजनीतिक सहमतिका आधारमा भागबण्डा मिलाउन नभएका पदहरुमा समेत मनोनयन दर्ता गर्दै विधान मिचेको आरोप लागेको हो।

निर्वाचन निष्पक्ष बनाउन भन्दै निर्वाचन समितिले जुलाई १३ मा निर्वाचन नियमावली प्रकाशित गरेको थियो, जहाँ उम्मेदवार बन्न चाहिने शर्त र योग्यता सहित उम्मेदवारी मनोनयनको विवरण समेत उल्लेख थियो। तर समितिले आफैँले बनाएको निर्वाचन नियमावली विपरीत बरिष्ठ उपाध्यक्ष, उपमहासचिव र युवा उपसंयोजकजस्ता पदमा मनोनयन दर्ता गर्दै निर्वाचित भएको घोषणा गरिसकेको छ। तर मनोनयन दर्तापूर्व नै विधान संशोधनसहितको पत्र कार्यसमितिबाट प्राप्त भएकाले सोहि अनुरुप नै थप पदहरुमा पनि मनोनयन दर्ता गरिएको निर्वाचन समितिले दावी गरेको छ।

एनआरएन स्पेनले एक सूचना प्रकाशित गर्दै जुलाई २३ मा विधानसभाको घोषणा गरेको थियो। समन्वय समितिको सुझाव अनुसार मार्गप्रशस्त गर्न १४ घण्टाको छोटो सूचनामा नै विधानसभा आयोजना गर्नु परेको संघले जनाएको छ।

एनआरएन स्पेनको विधानमा के छ ?

गैर आवासीय नेपाली संघ स्पेनको विधान -२००७ (२०२२ को संशोधन सहित) ‘विधान सभा’ बारे कतै पनि उल्लेख गरिएको छैन। तर परिच्छेद -११ को दफा २५(२) मा विधान संशोधनको व्यवस्था गरिएको छ।

‘यस विधानको कुनै पनि धारा उपधाराको संशोधन,खारेजी तथा थपघट वा परिवर्तन गर्ने प्रस्ताव कार्यकारी समितिको सदस्यहरु मध्येबाट २५ प्रतिशतले पेश गर्न सक्नेछ। तर प्रस्ताव पेश गर्नुअघि अन्तर्राष्ट्रिय समन्वय परिषद्को परामर्श लिनु पर्नेछ।  यसरी पेश गरिएको प्रस्ताव विशेष अधिवेशनद्वारा दुई तिहाइ बहुमतको आधारबाट पारित गर्न सक्नेछ। विधानको कुनै पनि धारा खारेज वा संशोधन गर्ने प्रस्ताव पारित भएमा सो प्रस्ताव तुरुन्त लागु हुनेछ।’

विधान मिचिएकोमा आपत्ति 

एनआरएनए स्पेनका पूर्व उपाध्यक्ष उत्तरकुमार राईले निर्वाचन समितिले विधान मिचेर उम्मेदवारी मनोनयन दर्ता गरेकोमा आपत्ति जनाएका छन्। सातौँ राष्ट्रिय महाधिवेशनका अध्यक्षका प्रत्यासी समेत रहेका राईले विधान विपरीत पदहरु थपेर गल्ती भएको भन्दै तुरुन्त सच्चाउन माग समेत गरेका छन्।

‘निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन नियमावली अनुसार उम्मेदारी दर्ता नभएकोमा मेरो घोर आपत्ति,’ उनले भने, ‘एकातिर बरिष्ठ उपाध्यक्ष, उपमहासचिव लगायतका पदहरुमा माग निर्वाचन समितिले गरेकै छैन। अर्कोतर्फ विधान विपरीत ती पदहरुमा मनोनयन दर्ता भएको छ।’ उनले निर्वाचन समितिबाट त्रुटी नसच्चिए सम्बन्धित निकायमा उजुरी हाल्ने चेतावनी समेत दिएका छन्।

यसैबिच नवनिर्वाचित एनआरएन क्षेत्रीय समिति म्याड्रिडले पनि एक विज्ञप्ति जारी गर्दै केन्द्रको निर्वाचन प्रक्रियामा विधानको उल्लङ्घन भएको भन्दै सच्चाउन माग गरेको छ। अध्यक्ष सागर श्रेष्ठ भोटेद्वारा जारी विज्ञप्तिमा क्षेत्रीय समितिले निर्वाचन नियमवाली अनुसार उम्मेदवारी दर्ता नभएकोमा आपत्ति प्रकट गरेको हो।

‘सार्वजनिक रुपमा माग नगरिएको पदमा एक्कासी उम्मेदवारी दर्ता गरी सूचना प्रकाशित गर्नु गैरजिम्मेवारपूर्ण काम हो। यस्ता कामले एनआरएन स्पेन मात्रै नभई आउदा दिनहरुमा क्षेत्रीय समितिहरुमा समेत असर पर्ने हुँदा तुरुन्त समाधान गर्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा लॆखिएको छ।

विधानसम्मत नै प्रक्रिया अगाडि बढेको छ : निर्वाचन समिति

निर्वाचन समितिका संयोजक प्रकाश तिमिल्सिनाले भने कार्यसमितिको निर्णय अनुसार नै विधानसम्मत मनोनयन दर्ता भएको दावी गरेका छन्। आफैँले बनाएको नियमावली विपरीत किन मनोनयन दर्ता गरियो भन्ने जिज्ञासामा संयोजक तिमिल्सिनाले भने, ‘विधान संशोधनपछि कार्यसमितिका अध्यक्ष र महासचिवको हस्ताक्षर सहितको पत्र निर्वाचन समितिलाई प्राप्त भएको छ। सोहि पत्र अनुसार नै मनोनयन दर्ताको प्रक्रिया सम्पन्न भएको हो।’

निर्वाचन समितिले जुलाई २५ मा सूचना प्रकाशित गर्दै सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरिसकेको छ।

एनआरएनए स्पेनको अध्यक्ष शालिकराम डुम्रेले सामाजिक एकताका लागि अन्तिम समयमा विधान संशोधन गर्नुपरेको बताए। ‘आईसीसीको रोहबरमा युरोप संयोजक सहित पूर्व डीआरसीहरुको परामर्शमा नै विधान संशोधन भएको छ,’ अध्यक्ष डुम्रेले भने, ‘कतिपय कुरा अपरझटमा गर्दा वैधानिक रुपमा एक इञ्ज तलमाथि भए होलान्। तर हामीले सम्भव भएसम्म वैधानिक रुपमा विधान संशोधन गरेका छौँ ।’

संघका महासचिव बिदुर गौतमले पनि विधान संशोधन विधिवत रुपमा नै सम्पन्न भएको भन्दै संघको बचाउ गरेका छन्। विधानमा कतै पनि उल्लेख नभएको विधानसभाको व्यवस्था कसरी भयो भन्ने जिज्ञासामा महासचिव गौतमले भने, ‘समन्वय समितिको सुझाव अनुसार नै ‘परिच्छेद -११ को दफा २५(२) लाई प्रयोग गरेर विधान सभाको आयोजना गरिएको हो। निर्वाचनमा जानुभन्दा सामाजिक एकताका लागि यो अनिवार्य र अपरिहार्य थियो।’

एनआरएनए नेतृत्व तहमा रही काम गरिसकेका एक अभियन्ताले भने आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अन्तिम समयमा विधान संशोधन गर्नु औचित्यपूर्ण नरहेको बताए। उनले भने, ‘वरिष्ठ उपाध्यक्ष, उपमहासचिव लगायत केहL पदहरु थप्नैका लागि विधानबारे विवाद ल्याउन जरुरी नै थिएन,’ उनले थपे, ‘कार्यसमितिको बैठकबाट नै बरिष्ठको जिम्मेबारी दिएर मिलाउन सक्नुपर्थ्यो। पदीय बाँडफाँटका गतिविधिले संघभित्र पदलिप्साको आरोप त लाग्छ नै। आउँदा दिनमा विधि विधानमा संघलाई चलाउन पनि निकै कठिन हुन्छ।’

‘केन्द्रमा तीन-तीन जना अध्यक्ष छन्। दर्जनौँ उपाध्यक्ष छन् भन्दै गलत कुराको सिको गर्नुभन्दा पनि विधिसम्मत् चल्दै आएका एनसीसीहरुलाई पनि गलत बाटोमा डोर्‍याउनु एनआरएनप्रतिको चासो झन् घट्नु हो,’ उनले भने ।

यस्तो बन्यो सर्वसम्मत नयाँ कार्यसमिति 

एनआरएनए स्पेनमा पेशलकुमार कोइरालाको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। उनले सन् २०१३-२०१५ को कार्यकालमा सदस्य, २०१५-२०१७ मा कोषाध्यक्ष हुँदै २०१७-२०१९ को कार्यसमितिमा उपाध्यक्ष पदमा रही काम गरिसकेका छन्। कोइराला सन् (२०१९-२०२१) कार्यकालका लागि अध्यक्षका प्रत्यासी समेत थिए। यस्तै आईसीसी सदस्यमा यज्ञ नारायण पौडेल निर्विरोध बनेका छन्।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रोशन पाठक, उपाध्यक्षमा (खुल्ला तर्फ) नारायण भट्टराई, रामप्रसाद दाहाल, कमला बराल (महिला) र सुरेन्द्र भुजेल थापा (क्षेत्र) निर्वाचित भएका छन्। यस्तै महासचिवमा सुन्दर रानाभाट, उपमहासचिवमा केशवराज कंडेल, सचिवमा (खुल्लातर्फ) नविन घिमिरे र राजेन्द्र प्रसाद काफ्ले, पार्वती ओली (म्याड्रिड), रमेश पण्डित (पाईसभास्को) र सन्तोष अर्याल (कोष्टाब्यालङ्का) रहेका छन्।

कोषाध्यक्षमा प्रभाकर दर्पण केसी, सहकोषाध्यक्षमा लाल बहादुर खत्री क्षेत्री, महिला संयोजकमा जमुनादेवी शर्मा सापकोटा, युवा संयोजकमा गणेशराज अधिकारी र युवा उपसंयोजकमा प्रविण सिंह निर्वाचित भएका छन्।

यस्तै सदस्यतर्फ सुनिता भुर्तेल ढुंगाना, उदयराज पाठक, शिव प्रसाद गौतम, केशर बहादुर थापा, गोबिन्द अधिकारी, दिपिका श्रेष्ठ, रमेश बास्तोला (पाईस भास्को) र रितेश श्रेष्ठ (कोष्टाब्यालङ्का) रहेका छन्।

भागबण्डा मिलाउनकै लागि विधानसभा मार्फत विधान संशोधन गर्दै बरिष्ठ उपाध्यक्ष, उमहासचिव, युवा उपसंयोजक र खुल्ला सदस्य (एक जना) नयाँ पदहरु थप गर्दै सर्वसम्मत कार्यसमिति गठन गरिएको हो।

एनआरएनए स्पेनको आठौँ राष्ट्रिय महाधिवेशन जुलाई ३० मा बार्सिलोनामा हुँदैछ। उक्त दिन एक कार्यक्रमकाबीच निर्वाचित नयाँ कार्यसमितिले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने संघले जनाएको छ।-onlinekhabar