यात्रानुभव: पोर्चुगलमा जे देखें


पोर्चुगलको पासपोर्ट बन्नु र मुग्लिङमा जाम खुल्नु एउटै हो। जाम खुलेपछि न त मुग्लिङमा गाडी नै रोकिन्छन् न पासपोर्ट बनेपछि पोर्चुगलमा नेपाली नै। मुख्यत: बेल्जियम, नर्वे र डेनमार्कलाई अहिले पोर्चुगलका नेपालीले नयाँ गन्तव्य मुलुक बनाएका छन्।  

वसन्त रानाभाट

उनको माग्ने सपना हुँदै होइन। लाखौं खर्च गरेर उनी युरोपका गल्ली–गल्लीमा माग्न पक्कै आएका होइनन्। पोर्चुगलको राजधानी लिस्बन। लिस्बनको पनि मुटु ठानिने मार्तीमुनिजको पार्क। सेभेन हिलसाइड घुम्नका लागि ट्राम नम्बर २८ को पर्खाइमा थियौं हामी।

जुलाईको पहिलो साता। पर्यटकहरूको खचाखच। ऐतिहासिक मानिने ट्राम चढ्नका लागि लामो लाइन त थियो नै। पंक्तिमा बसेको पनि आधा घण्टा बितिसकेको थियो। अब ट्राम चढ्नै आँटेका थियौं।

आयरल्याण्डबाट घुम्न आएका एक पर्यटक। हामीसँग मज्जाले गफिंदै थिए। परिवार सहित लिस्बन घुम्न आएका रहेछन्। भारतले नाकाबन्दी लगाएको वर्ष २०७२ मा उनी पोखरा घुम्न गएका रहेछन्। उनले भोगेको नमीठो कहानी हामीलाई सुनाउँदै थिए। हाम्रो गफगाफ चल्दै थियो।

ठ्याक्कै हाम्रो अघि झुल्किए एक युवक। ३५-४० वर्षका जस्ता देखिने। झुस्रुक दाह्री। ३० डिग्रीको गर्मी। लामबाउले कमिज लगाएका। अंग्रेजी बोल्दै पैसा मागे। तर एकैछिनमा उनको मुखबाट नेपाली शब्द फुस्कियो। सायद उनी आफैंसँग एक्लै बोल्दै थिए।

उनले बोलेको शब्द थियो ‘कस्तो’। मेरो कानमा गुञ्जियो। खै उनी के प्रसंगमा बोले। हेर्दा त पाकिस्तानी वा इन्डियन जस्तो देखिन्थे। तर उनी नेपाली नै रहेछन्। उनलाई देखेको २०-३० सेकेन्डमा नै ट्रामभित्र छिर्ने हाम्रो पालो आयो। उनीसँग दोहोरो बातचित हुन सकेन।

ट्रामभित्र छिरेपछि पनि मेरो नजर उनीतिर नै केन्द्रित रह्यो। साथी लक्ष्मणलाई भनें, ‘यिनी त नेपाली रहेछन्।’ रोड पारि पुगेपछि उनी चर्कोचर्को स्वरले बोल्दै थिए। अर्को उनकै साथीसँग। मनमा प्रश्न उब्जियो। यो घटनापछि मैले पोर्चुगलमा भेटिएका थुप्रै नेपालीसँग जिज्ञासा राखें, सोधें। के नेपालीहरू यहाँ सडकमा माग्दै हिंड्छन् ? के मैले देखेको यो यथार्थ नै हो ?

हो, म सही रहेछु। माग्ने उनी एक्ला नेपाली रहेनछन्। त्यो सङ्ख्या लिस्बनमा मात्रै ४-५ जनाको रहेछ। गाडी पार्किङ गर्ने ठाउँसम्म पनि पुगेर माग्ने। एक-दुई युरो वा सेन्ट नै किन नहोस्। त्यही बटुलेर पेट पाल्दा रहेछन्। माग्दै हिंड्दा कहिले सडकमा, कहिले पार्कमै सुत्ने। कहिले घरका बराण्डामा। बिहानै उठ्यो। माग्न हिंड्यो। जे जति मिल्छ खायो। हुँदा खायो नहुँदा भोकभोकै। उनीहरूको दिनचर्या यस्तै यस्तै रहेछ।

यही प्रसंगमा एक नेपालीले माग्नेको अर्को किस्सा पनि सुनाए। सेभेन हिलको कुनै डाँडातिरको घटना। एक नेपाली युवक। एउटा घरको ढोकामै सुत्ने रहेछन्। उनी सधैंजसो त्यही ठाउँमै सुत्ने। त्यो घरकी एक महिलाले वडा कार्यालयमा फोन गरेर कम्प्लेन गरिछन्, ‘उसलाई मेरो घरको बरान्डाबाट निकालिदेउ। घरभित्र छिर्न र निस्कन गाह्रो भयो।’ ती महिलाले नेपाली समुदायमा पनि गुनासो राखिछन्।

न त कुनै योजना, न कुनै सीप र ज्ञान। पोर्चुगल पुगेपछि कार्ड र पासपोर्ट बनिहाल्छ भन्ने चक्करमा प्राय: युवाहरू जोखिमपूर्ण यात्रा गर्दै त्यहाँ छिरेका छन्। त्यसले पनि उनीहरूको सुरुवाती दिनहरू विकराल देखिन्छ। मानसिक रूपमा विक्षिप्त बन्दा आफैंलाई सम्हाल्न सक्दैनन्। कोही कुलतमा फसे। विक्षिप्त बनेर डिप्रेसनको शिकार बने। लाखौंको ऋण छ घरमा। परिवारको सम्पर्कमा रहन रुचाउँदैनन् उनीहरू। अन्तिम विकल्प, मागेर नै गुजारा चलाएका छन्। संख्या कम होला तर दृश्य हामी सबैलाई झस्काउने छ।

उनीहरूलाई नेपाल फर्काउने पहल नभएको पनि होइन। तर फर्कने इच्छा नै राख्दैनन्। केही वर्ष पहिले पनि यी दृश्यहरू देखिएका रहेछन्। नेपाली समुदायको पहलमा २-४ जनालाई नेपाल फर्काइएको पनि रहेछ।

*** ***

घुम्नको लागि खासै योजना बनाउँदिनँ म। पोर्चुगलका सिमानातिर यसअघि दुईपटक पुगिसकेको थिएँ। तर राजधानी जाने धोको त पहिलेदेखिकै हो। तीन दिनमै लिस्बन जाने योजना बनाएँ साथी लक्ष्मण शर्मासँग।

सन् २०२३ जुलाई २ मा लिस्बन पुग्यौं। स्पेनको बार्सिलोनादेखि लिस्बनसम्मको १ घण्टा ४० मिनेटको हवाई यात्रा। स्पेनको भूमिलाई आकाशबाट नियाल्दै हामी लिस्बन पुग्यौं।

नेपालीको बाक्लो बसाइ भएको शहर लिस्बन। मेट्रो, सडक, पार्कमा होस् या सामुद्रिक किनारा, जता डुल्दा होस् कोही न कोही नेपाली त ठोक्किइहाल्ने। प्राय: विदेशमा नेपालीले अर्कोलाई देख्दा वा भेट्दा उत्साह थपिन्छ। चिनजान नभए परिचय गर्ने चलन छ। तर त्यो लिस्बनमा सम्भव थिएन।

सानो शहरमा नेपालीको सङ्ख्या निकै बाक्लो। कल्पनाभन्दा पनि पर। अन्य सेन्जेन देशहरूमा त्यस्तो पाइँदैन। एक महिनाअघि मात्रै नेपालबाट फर्किएको म। मलाई त पुन: नेपाल नै पुगेको भान भयो। ओहो कति धेरै नेपाली।

नेपाली लाइभ म्युजिक 

नेपाली रेष्टुराँहरू उस्तै। नेपाली म्यूजिक लाइभ बारहरू। नेपाली संगीतसँगै मध्यरातसम्म झुम्ने। ९० प्रतिशत जति ग्राहक नै नेपाली। त्यो अन्य सेन्जेन देशहरूमा देख्न पाइँदैन। मार्तीमुनिजको पार्क अगाडि ‘चिचीपापा’ रेष्टुराँ। नामले नै नेपालीपन लाग्ने।

२०-३० वर्ष उमेर समूहका नेपाली युवायुवती। नेपाली संगीतमा रमाइरहेका थिए। वाइन र बियरको चुस्कीमा मस्त थिए। ३०० मिटर पर अर्को रेष्टुरेन्ट ‘लव लिस्बन’ त्यहाँ पनि उस्तै माहोल। लाइभ म्युजिक चलिरहेको थियो। स्टेजमा जोशमा साथ नेपथ्यको गीत गाउँदै थिए एक युवा–

हाँगो नाँच्ने वनचरी त आकाशैको बाज

जुगौं भयो पिरिम् भाको, बल्ल भेटें आज

सुनको औंठी, सिलमुन्द्री साथ लिई आम्ला

बात लागे नेपाल जाम्ला, रिन परे तिरम्ला, हे !

तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने !

उनले गाएको यो गीतसँगै युवायुवतीले कम्मर मर्काएका थिए। ‘पैसा कमाउन त फेरि अर्को देशमा गएर संघर्ष गर्नु छँदैछ। अहिले रमाउने समय हो।’

लिस्बनमा भेटिएका केही नेपाली युवाको आशय यस्तो पनि थियो। मैले अगाडि देखेको दृश्यले पनि त्यही बोल्दै थियो। पार्कमाथि कोही संगीतमा रमाइरहेका थिए त कोही पार्कलाई नै सिरानी बनाएर सुतेका थिए। यो मनोरञ्जननको शहर। दुःखको शहर। र, संघर्षको शहर पनि। मलाई साँच्चिकै लिस्बन ‘मिनी नेपाल’ लाग्यो।

ठूलो स्पेस लिएर लाइभ म्युजिक सहित रेष्टुरेन्ट संचालन गरिएका। सँगै डान्स गर्न पनि मिल्ने। नेपालमा जस्तै मनोरन्जनको अनुभव गर्न सकिने। अन्य पोर्तुगिस रेष्टुरेन्टहरूमा त्यो वातावरण मिल्दैन। खुलेर रमाउन पाउँदैनन्। त्यो हुँदा पनि नेपाली लाइभ म्युजिक बारको आकर्षण देखिएको रहेछ। देखासिकी गर्ने नेपालीको बानी। एकले अर्कालाई नक्कल गर्दै यस्तै प्रकारका रेष्टुराँहरू पनि तीन वटा पुगिसकेछन्।

कति छन् नेपाली ?

नेपालभन्दा पनि सानो देश पोर्चुगलको जनसङ्ख्या झण्डै १ करोड ५ लाख छ। यहाँ नेपालीको सङ्ख्यालाई लिएर व्यक्तिपिच्छेकै अनुमान फरक फरक छ। करिब ४५ हजार नेपालीले पोर्चुगलमा बसोबास गर्दै आएको ठानिन्छ। तर सरकारी आँकडामा त्यसको आधा सङ्ख्या मात्रै अभिलेखमा छ। पोर्चुगल आएका ६० प्रतिशत नेपाली भने खेतीकिसानीमा संलग्न देखिन्छन्।

केही अपवाद बाहेक यहाँ आउनेलाई डकुमेन्टेसनको खासै ठूलो समस्या रहेको सुनिएन। ‘मेरो कार्ड नै बनेन वा पासपोर्ट बन्न सकेन’ भन्ने घटना निकै कम भेटिए। यद्यपि रेसिडेन्सी कार्ड र राहदानी प्राप्त गर्दासम्मका संघर्षका कथा भने थुप्रै छन्।

कष्टकर जीवन

मुख्यत: काम पाउनु नै ठूलो चुनौती रहेछ यहाँ। कतिपय कामहरू यहाँ सिजनेवल हुँदा रहेछन्। समरमा काम पाए पनि जाडोमा काम पाउन धेरै गाह्रो। तर सीप, भाषा, टेक्निकल ज्ञान नहुँदा सजिलै काम पाउने सम्भावना धेरै नै कम रहेको छ।

हामी नेपालीलाई पहिले भाषा र सीप सिक्ने, त्यसपछि काम खोज्ने भन्ने हुँदैन। खाना र बस्नका लागि पनि समस्या रह्यो। त्यसैले पहिले काम नै खोज्नु स्वाभाविक पनि हो। कतिपय नेपाली जो भर्खर पोर्चुगल छिरेका हुन्छन्। काम नहुँदा नेपालबाट खर्च मगाएर गुजारा चलाएको पनि भेटियो।

पोर्चुगलको न्यूनतम मासिक तलब मात्रै ७६० युरो। जुनसुकै माध्यमबाट पोर्चुगल छिरेको भए पनि सुरुवाती जीवनयापन यहाँ निकै कष्टकर भइरहेको हामीले पायौं। आउने बित्तिकै काम त परको कुरा, कोठा भाडामा पाउन पनि मुश्किल रहेछ। सहज विल्कुलै छैन।

भर्खर राजधानी छिर्नेलाई सबैभन्दा ठूलो समस्या आवासको नै। एउटै फ्याल्टमा धेरै परिवार कोच्चिएर बस्नुपर्ने। एउटा कोठालाई मासिक ४-५ सय युरोसम्म तिर्नुपर्ने। त्यो पनि पाउनै मुश्किल। कसैसँग शेयरिङ बस्दा पनि मासिक दुई-तीन सय युरोसम्म भाडा लाग्ने। त्यो पनि नपाउँदा होस्टेलमै बस्नुपर्ने। दैनिक १५-२० युरो खर्च गरेर होस्टेलमै बस्दै आएका छन् कैयौं नेपाली।

श्रमशोषण

सुरुवाती चरणमा पोर्चुगल आएका नेपाली श्रमशोषणमा समेत परेका छन्। अधिकांशले कृषिमा श्रम गरिरहेका छन् भने बाँकी होटल तथा रेष्टुराँमा। नेपाली बाहेक पोर्चुगिज, चाइनिजको स्वामित्व रहेका रेष्टुराँहरुमा उनीहरु काम गरिरहेका छन्। दैनिक १०-१२ घण्टासम्म काम लगाइने रहेछ तर मासिक तलबमा। हरेक हप्ता पाउनुपर्ने छुट्टी पनि छैन। हामीसँग गफिएका अधिकांश नेपालीले श्रमशोषणमा परेको बताए। सम्झौतामा उल्लेख गरेभन्दा धेरै घण्टा काम गर्न उनीहरू बाध्य देखिए।

‘रेसिडेन्स कार्ड छैन। सम्झौता चाहियो नै। विना कन्ट्रयाक्ट पेपर बन्दैन। त्यसैले पनि साहुले जे भन्यो त्यही मान्नुपर्ने अवस्था छ’ एक नेपालीले गुनासो सुनाए, ‘तलब कम पाए पनि ट्याक्स हाल्दिए हुन्थ्यो र पेपर बन्ला भन्ने लोभले पनि सम्झौताभन्दा बढी काम गर्न बाध्य छौं।’

पोर्चुगलको बसाइ : मुग्लिङको जाम जस्तै 

मुग्लिङमा पहिरो गएर बाटो अवरुद्ध हुँदा कस्तो हुन्छ ? सम्झनुहोस् जाममा परेर बिताएको पल। अवश्य निकै कष्टकर हुन्छ नै। पोर्चुगलका सुरुवाती दिनहरू पनि त्यस्तै हुन्। यहाँ नेपाली बस्ने अवधि भनेको ५-७ वर्ष नै हो। त्यो अवधि जाममा बिताएको पल जस्तै।

पोर्चुगलको पासपोर्ट बन्नु र मुग्लिङको जाम खुल्नु एउटै हो। जाम खुलेपछि न त मुग्लिङमा गाडी नै रोकिन्छन्। पासपोर्ट बनेपछि न त पोर्चुगलमा नेपाली नै।

पासपोर्ट हात परेको भोलिपल्ट नै उनीहरूले नयाँ देशको गन्तव्य सुरु गर्छन्। पहिले पहिले उनीहरूको रोजाइ बेलायत थियो। तर युरोपियन युनियनबाट बाहिरिएपछि बेलायत बसाइ सर्ने क्रम अहिले पूर्णरूपमा रोकिएको छ।

अहिले मुख्यत: बेल्जियम, नर्वे र डेनमार्क पोर्चुगलका नेपालीका लागि नयाँ गन्तव्य मुलुक बनेका छन्। यहाँबाट बसाइ सरेर जाने नेपालीको अनुपातलाई हेर्ने हो भने अबको एक दशकभित्र यी देशहरूमा अहिले रहेको नेपालीको सङ्ख्याभन्दा पोर्चुगलबाट पासपोर्ट लिएर त्यहाँ पुग्ने नेपालीको सङ्ख्या धेरै हुन जाने आकलन गर्न सकिन्छ।

बसाइ सरेर जाँदा सबैभन्दा ठूलो चुनौती भाषाको हुन्छ। हातमा युरोपेली मुलुकको पासपोर्ट भए पनि उनीहरूको नयाँ जिन्दगी फेरि शून्यबाट सुरु हुन्छ। नयाँ शिराबाट सुरु हुन्छ। हालसम्म ६ हजार भन्दा बढी नेपालीले पोर्चुगलको पासपोर्ट लिइसकेको अनुमान छ।

*** ***

पालुङटार नगरपालिका-३ गोरखा मूल घर भएका कमल भट्टराई। ५ वर्ष पहिले उनकै नेतृत्वमा ‘नियाल्प पोर्चुगल’ लिस्बनमा सुरु भएको थियो। पोर्चुगलमा रहेका आप्रवासीहरूको कानुनी, सामाजिक, शैक्षिक र स्वास्थ्य सम्बन्धी परामर्श दिन सहयोग गर्ने परिकल्पना उनले ‘नियाल्प’ नामक संस्था सुरु गरेका हुन्। एक दशकदेखि पोर्चुगलमा बस्दै आएका भट्टराईसँग हाम्रो भेट भयो। उनीसँगै ब्रेकफास्ट गर्‍यौं र गफियौं।

युरोपियन युनियनले आफ्ना सदस्य राष्ट्रहरूलाई दिएको सहयोग अन्तर्गत पोर्चुगल सरकारको छिमेकीका लागि स्वास्थ्य कार्यक्रम मार्फत नियाल्पले झन्डै ५० हजार यूरो प्राप्त गरेको रहेछ। ‘करिब ७७५ भन्दा बढी संघ–संस्थाहरूले यो किसिमको कार्यक्रमको लागि आवेदन दिएका थिए। जसमध्ये २४६ संस्थाहरू मात्रै छनोटमा परे’ भट्टराईले सुनाए, ‘त्यसमा हामी पनि पर्‍यौं।’

नमस्ते पोर्चुगल प्रोजेक्ट अन्तर्गतको कार्यक्रम ‘गर्भवती क्लब’ नाम दिंदै नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेका छन्। उनको अफिसमा पुग्दा पनि गर्भवती महिलाहरूसँग स्वास्थ्य परामर्श चलिरहेको हामीले अवलोकन गर्‍यौं।

भट्टराईसँग यसअघि फोनमा लामो कुराकानी हुन्थ्यो। तर प्रत्यक्ष भेट भएको यो पहिलो पटक हो। उनी पोर्चुगलको आप्रवासी नीतिबारे पनि दख्खल राख्छन्। पोर्चुगलको आप्रवासी नीति किन यति धेरै खुकुलो हो ? जिज्ञासा राख्यौं।

आप्रवासी नीति किन खुकुलो

पोर्चुगलमा जनसङ्ख्याको ४ प्रतिशत मात्रै आप्रवासी भएको उनले सुनाए। तीमध्ये झन्डै २५ लाख पोर्चुगिज देश बाहिर रहेछन्। नेपालमा जस्तै युवाहरू अवसरको खोजीमा बाहिर जाने क्रम त्यहाँ पनि डरलाग्दो रहेछ। ‘पोर्चुगलको न्यूनतम मासिक तलब ७६० युरो छ। यहाँको युवा जमात अन्य युरोपेली मुलुकमा गएर काम गर्छन्। बाहिर गए दोब्बर–तेब्बर कमाउँछन्’, उनले सुनाए। त्यसमाथि जनसङ्ख्याको ठूलो हिस्सा पाको उमेर समूहको रहेछ।

‘जनसङ्ख्या वृद्धिभन्दा घट्ने क्रम बढी छ। यदि विदेशी नआउने हो, यहाँ आएर विदेशीले बच्चा नजन्माउने हो भने झन् ठूलो समस्या देखिन्छ। त्यसैले पनि यहाँको अर्थतन्त्र धान्न र श्रमका लागि पोर्चुगल विदेशीमै निर्भर छ’ भट्टराईले थपे, ‘पोर्चुगलको भाषा बोलिने ९ वटा देशहरू छन्। गत वर्ष अगष्टदेखि उनीहरूलाई अन अराइभल भिसाको सुविधा पनि छ। कागजी प्रक्रियामा पनि सुविधा र सहुलियत प्रदान गरिएको छ।’

पोर्चुगलमा सधैं कामदारको अभाव नै देखिएको उल्लेख गर्दै उनले घर बनाउने कन्स्ट्रक्सनको काममा हजारौं कामदारको माग अहिले पनि रहेको सुनाए। ‘अहिलेसम्मको अवस्था हेर्दा यहाँ भविष्यमा आप्रवासीलाई रोक्ने वा कडा नीति ल्याउने कुनै सम्भावना देखिंदैन’ उनले भने, ‘अहिले सरकारमा रहेको सोसलिष्ट पार्टी पनि आप्रवासीमैत्री नै छ, हामीकहाँ धेरै विदेशी छैनन् भन्ने उनीहरूको सोचाइ छ।’

पोर्चुगलको निर्वाचन प्रणाली शतप्रतिशत समानुपातिक छ। ‘हामीकहाँ शतप्रतिशत समानुपातिक हुन्थ्यो भने कति धेरै दलहरू आउँथे होला। तर यहाँ गत निर्वाचनमा सोसलिष्ट पार्टीले १२० सिट जित्दै स्पष्ट बहुमत ल्यायो’, उनले भने।

 घरेलु हिंसात्मक घटना

नेपाली परिवारको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। कतिपय अवस्थामा श्रीमान् श्रीमतीको बीचमा पनि विभिन्न असमझदारी रहँदा घरेलु हिंसात्मक घटना पनि बाहिर आएका छन्। ‘नियाल्प पोर्चुगल’ का निर्देशक भट्टराईका अनुसार घरेलु हिंसालाई पोर्चुगलमा तीन वर्षदेखि पब्लिक क्राइम मानेको छ। पोर्चुगिज परिवारमा पनि समस्या बढेको हुँदा सरकारले कडाइ गर्दै लगेको हो। श्रीमान्-श्रीमतीको झगडा थाहा पाएर छिमेकीले खबर गरिदिंदा पनि त्यस्ता मुद्दाहरू बढेको भट्टराई सुनाउँछन्।

भाषा अनुवादकको रूपमा काम गर्दाको अनुभव भट्टराईले यसरी सुनाए। एउटा परिवारमा नेपाली श्रीमान्-श्रीमतीबीच हिंसात्मक घटना बाहिर आयो। पछि उनीहरूबीच समझदारी भयो। मिलेर बस्ने भनेपछि श्रीमतीले केस फिर्ता लिन चाहिन्। तर जजले भने ‘यो पब्लिक क्राइम हो। केस अगाडि बढिसकेको छ। तपाइँले भन्दैमा यत्तिकै टुंग्याउन मिल्दैन।’

नेपाली परिवारका कम्तीमा ८-१० घरेलु हिंसाका घटना बाहिर आइसकेको उनले सुनाए। ‘अझ कतिपय केसहरू लुकेका छन्, बाहिर आएका छैनन्। ती सबै जोड्दा संख्या बढ्न सक्छन्’, उनले भने। परिवारमा श्रीमतीमाथि कुटपिट र अन्य घरेलु हिंसाका घटनाले पोर्चुगलमा प्रवासी नेपालीलाई जटिलता थपिदिएको छ। लिस्बन बाहिर पोर्चुगलको उत्तरदेखि दक्षिणसम्म नेपाली समाजमा यस्ता धेरै घटना घटेका छन्।

यसअघि पोर्चुगलमा एक नेपालीले अर्को नेपालीलाई नै हत्या गरेको घटना पनि रहेछ। कुटपिट र झै–झगडाका घटनाहरू त सामान्य जस्तै बन्दै आएका छन्। यसअघि मानव तस्करीको घटनामा दुई नेपालीलाई जेल चलान समेत गरिएको थियो। तर केस बीचमै टुंगियो। त्यसैबीचमा घटनामा संलग्न नेपालीहरू पोर्चुगल छाडेर भागेका थिए।

 समाजको नेतृत्वमा सधैं नयाँकै भर

नेपालमा जति धेरै पार्टी छन्, जस्तो चरित्र छ त्यो इमेज पोर्चुगलमा पनि देख्न सकिन्छ। हुन त यो कुरा नेपाली पुगेका अन्य मुलुकमा पनि लागू होला। तर पनि पोर्चुगलमा नेपालीको सङ्ख्या ठूलो भएकाले नेपाली राजनीतिको हुटहुटी अलि बढी नै देखिन्छ।

पोर्चुगल आएर केही सिकिसकेका पुराना मानिसहरू स्थानीयसँग धेरथोर घुलमिल भएका छन्। तर नागरिकता पाउनासाथ पोर्चुगल छोड्ने हुँदा समाजको नेतृत्व सधैं नयाँकै भरमा अडेको छ। नेतृत्व तहमा बसेकाहरू प्राय: पोर्चुगलको नीतिनियम कानुनबारे अनभिज्ञ देखिन्छन्। पोर्चुगल ट्रान्जिट पोइन्ट मात्रै बनिदिंदा नेपाली समाजले ठूलो घाटा व्यहोरेको छ।

पोर्चुगलको बसाइ अस्थायी हो भन्ने सोचले प्रवासी नेपाली समाजको दीर्घकालीन योजना प्रभावित छ। नेपाली दूतावास स्थापना हुन नसक्नुलाई यसैसँग जोड्ने गरिन्छ। पोर्चुगल वा स्पेनमा दूतावास कता खोल्ने भनेर सरकार दोधारे स्थितिमा थियो। नेपाली समुदायका अगुवाहरूले त्यतिबेला पोर्चुगलमा खोल्नुपर्ने पर्याप्त आधार दिन सकेनन्। फलस्वरूप नेपाल सरकारले २० फेब्रुअरी २०१७ मा म्यड्रिडमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो।

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा समेत नेपाली राजदूतावास छ। सन् २०१० जनवरी २१ मा ब्राजिलमा नेपाली आवासीय दूतावास खोल्ने निर्णय भएको थियो। दूतावास स्थापनाको १३ वर्ष बितिसक्यो। न त ब्राजिलमा नेपालीको उल्लेख सङ्ख्या नै छ न नेपालले कूटनीतिक फाइदा लिएको छ। ४५ हजार भन्दा बढी नेपाली बसोबास गर्ने पोर्चुगल भन्दा ब्राजिलमा दूतावास खोल्नु उपयुक्त हो ? पोर्चुगलमा रहेका नेपाली समुदायका अगुवाहरूको प्रश्न यस्तै थियो।

नेपाली राहदानी बनाउन समस्या

पूर्वी युरोपियन देशहरूबाट नेपालीहरू नेपाली पासपोर्ट फ्याँकेर वा च्यातेर पोर्चुगल आउने गरेको पाइन्छ। अवैधानिक रूपमा आउँदा केही डकुमेन्ट हुँदैन। नेपाली पासपोर्ट देख्यो भने नेपालमै फर्काइदिन्छ। डिपोर्टको डरले पासपोर्ट फ्याँकेर पोर्चुगल छिर्ने नेपालीको सङ्ख्या ठूलो छ। त्यसैले पनि पोर्चुगलमा नेपाली नयाँ राहदानी बनाउनेको चाप बढेको हो।

पोर्चुगल आएपछि हरायो भन्दै उनीहरू नयाँ राहदानी बनाउने प्रक्रियामा जान्छन्। नयाँ विद्युतीय राहदानी बनाउन दूतावासनमा प्रत्यक्ष उपस्थिति हुनुपर्ने नियम छ। पोर्चुगलभित्र नेपाली दूतावास छैन। फ्रान्सस्थित नेपाली दूतावासले पोर्चुगललाई समेत हेर्दै आइरहेको छ। रेसिडेन्सी कार्ड नभइसकेका नेपालीका लागि पोर्चुगल बाहिर स्पेन, फ्रान्समा रहेका दूतावासमा पुगेर राहदानी बनाउन जटिल समस्या देखिन्छ।

विना भिसा र डकुमेन्ट त्यहाँ जान सक्दैनन्। पोर्चुगलमा नेपाली राहदानी बनाउनेको ठूलो चाप देखियो। पोर्चुगलस्थित नेपाली कन्सुलर कार्यालयको पहलमा मार्च २९ देखि अप्रिल २५ सम्म परराष्ट्र मन्त्रालयको टोली नै लिस्बन पुग्यो। फलस्वरूप २ हजार ३०८ जनाले नयाँ विद्युतीय राहदानी बनाउने मौका पाए।

एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाका अनुसार पासपोर्ट हराएको भन्दै आवेदन दिनेको सङ्ख्या ७५२ रहेको छ। यस्तै पासपोर्ट ड्यामेज भन्दै आवेदन दिनेको सङ्ख्या ३० र नवीकरण गर्नेको सङ्ख्या १ हजार ४३६ रहेको छ।

महासचिव थापाले प्रत्येक तीन महिनामा फ्रान्सस्थित नेपाली राजदूतावासबाट घुम्ती शिविर आएमा पनि पोर्चुगलमा नेपाली राहदानी सम्बन्धी समस्या तत्कालका लागि समाधान हुने बताए।

 दुई वर्षमै २६ को मृत्यु, एक बेपत्ता

अर्कोतर्फ पोर्चुगलमा नेपालीको मृत्यु हुने क्रम पनि बढ्दो छ। सन् २०२१ को अगष्ट १ देखि २०२३ को जुलाई १ सम्म पोर्चुगलमा २६ जना नेपालीको मृत्यु भएको छ भने एक बेपत्ता छन्।

‘शव नेपाल पठाउँदा ३५ सयदेखि ४ हजार युरोसम्म लाग्छ। ३-४ बाहेक सबैको शव हामीले नेपाल नै पठाइदियौं। कहिलेकाहीं त हप्तामा नै दुई जनासम्मको मृत्यु हुन्छ। त्यतिबेला सहयोग गर्नुहोस् भनेर समुदायमा अपील गर्दा पनि अप्ठ्यारो हुन्छ’, महासचिव थापाले भने।

व्यावसायिक छलाङ

पोर्चुगलमा माग्नेको कथा पनि सुन्यौं। पासपोर्ट बनेपछि अन्तै भाग्नेको कथा पनि सुन्यौं। तर आफ्नै मिहिनेत र परिश्रमले पोर्चुगिज समुदायमाझ नेपालीको नाम रोशन गर्ने कथालाई भने भुल्नुहुँदैन।

पोर्चुगलका एक जना चर्चित नेपाली सेफ हुन् टंक सापकोटा। दुई दशकभन्दा लामो समयदेखि पोर्चुगलमा बस्दै आएका बाग्लुङ स्थायी घर भएका सापकोटाको लिस्बनमा आफ्नै व्यवसाय छ। इटालियन खानामा दक्ष मानिने सापकोटाले दर्जनौं राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेका छन्।

कोरोनाभाइरसको यो विश्वव्यापी महामारीका बीच उनले निम्नवर्गीय नागरिकहरूको घर–घरमा खाना पुर्‍याउने अभियान सञ्चालन गरेर सबैको मन जिते। उनलाई लिस्बनमा भेट्ने इच्छा थियो। तर तीन दिनको मात्रै समय भएकाले यसपटक सम्भव भएन।

पोर्चुगलका अर्का सफल व्यवसायी हुन् ध्रुवराज सुवेदी। पोखरा महानगरपालिका-२१ कृस्ति स्थायी घर भएका उनी १५ वर्षदेखि पोर्चुगल बस्दै आएका छन्। हामी एउटै वडावासी पनि। एउटै स्कुल पढेका। गफगाफ गर्दा स्कुल जीवनकालमा पनि फर्कियौं। लिस्बनको मुटु मानिने रोसियो क्षेत्रमा नेपाली स्वामित्वका रेष्टुरेन्टको वर्चस्व निकै देखियो।

सो क्षेत्रमा सुवेदीले नै आफ्नै रेष्टुरेन्टहरूको संजाल फैलाएका छन्। एकल तथा साझेदारीमा उनले पोर्चुगलमा दर्जनौं रेष्टुरेन्ट संचालनमा ल्याएका छन्। विभिन्न देशका नागरिकसँग मिलेर उनले युरोप तथा एसियाका विभिन्न मुलुकमा समेत लगानी गरेका छन्।

‘जहिले पनि व्यवसायलाई सानोबाट ठूलो बनाउने हो। एकैचोटि ठूलो त्यसपछि सानो बनाउने होइन’ उनले भने, ‘व्यापारमा विश्वास हुन जरुरी छ। पहिले मैले वेटर गर्थें, पर्यटकलाई रेष्टुरेन्टमा बोलाउने काम गर्थें। आखिर यही कामबाट धेरै कुरा सिकें’ सुवेदीले आफ्नो विगतको अनुभव कोट्याए।

कास्की मूल घर भएका शिव तिवारी पोर्चुगल बस्न थालेको ७ वर्ष पुग्यो। दुई वटा रेष्टुरेन्टमा लगानी गरेका उनी पोर्चुगलको कमाइबाट सन्तुष्ट छन्। ‘पासपोर्ट पाउने बित्तिकै पोर्चुगल छाड्नेको जमात ठूलो छ। तर म यहीं खुशी छु। यति राम्रो शहर छोडेर जाने परिकल्पना गर्दा पनि गाह्रो हुन्छ’, तिवारीले सुनाए।

सामान्य रूपमा आएका नेपालीहरू पनि पोर्चुगल जस्तो देशमा व्यावसायिक रूपमा सफल हुँदै यहाँको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएका छन्। नेपालीको व्यावसायिक सफलताको गाथा पोर्चुगिज सञ्चारमाध्यमले समेत उल्लेख गरेका छन्।

पोर्चुगलमा नेपाली स्वामित्वमा करिब तीन सय नेपाली रेष्टुरेन्टहरू संचालनमा आएको बताइन्छ। केही नेपालीको व्यावसायिक सफलतालाई देख्दा देशले राम्रो जनशक्ति चिन्न नसकेको हो जस्तो भान हुन्छ। पोर्चुगल जस्तो सानो देशले पनि नेपाली दक्ष व्यवसायी तथा कामदारको कदर गरेको छ। अन्य ठूला देशहरूमा झन् नगन्य रूपमा छ। मनमनै लाग्यो देशले अझै दक्ष जनशक्ति चिन्न सकिरहेको छैन।

मानव तस्करीको जालो

पोर्चुगलको बारेमा केही लेख्दा मानव तस्करीको सन्दर्भ छुटाउनै नसकिने अवस्था बनेको छ। मानव तस्करीको संजाल सबैभन्दा बढी पोर्चुगलबाट नै फैलिएको छ। युरोप भन्ने बित्तिकै नेपालमा पोर्चुगलको नाम युवा जमातमा झुण्डिएको छ।

रोमानिया, माल्टा, पोल्याण्ड, क्रोएशिया, साइप्रस जस्ता मुलुकका जता आए पनि त्यहाँबाट अन्तिम गन्तव्य पोर्चुगल नै हो। यी सबै मुलुकमा पनि मानव तस्करीको संजाल बलियो रूपमा फैलिएको छ। केही नेपालीहरू पोर्चुगलको राहदानी बोकेर नै ती मुलुकहरू पुगेर मानव तस्करीको काममा संलग्न छन्।

त्यो अलावा सिजनल भिसामा बेलायत आएका नेपालीहरू पनि अवैधानिक रूपमा फ्रान्स हुँदै पोर्चुगल छिरेका छन्। डेनमार्क लगायत युरोपेली मुलुकका अध्ययनका लागि आएका विद्यार्थीको सेल्टर पनि पोर्चुगल नै बन्ने गरेको छ।

कृषि श्रममा नै आधारित ६० प्रतिशत नेपालीले पोर्चुगलमा पीडादायी जीवन भोगिरहेका छन्। ७ वर्ष पहिले पोर्चुगलको अध्यागमन विभागले सर्च अप्रेशन गरेको घटना अझै पनि चर्चामै छ। त्यहाँ २३ जना नेपाली कामदारलाई नियम विपरीत राखेको तथा श्रमशोषण गरेको घटना सावर्जनिक भएको थियो। सो घटना पोर्तुगिज संचारमाध्यममा समेत आएकाले देशभर चर्चाको विषय बन्यो। कामदारलाई तलब नदिएको, न्यूनतम सेवासुविधाबाट वञ्चित गरेको उक्त घटनामा दुई नेपालीलाई जेल चलान समेत गरिएको थियो । अनलाईनखबरबाट साभार