सञ्जीव गिरीले बनाउएको केक डेनमार्कमा वर्षकै उत्कृष्ट घोषित 


Photo by HASSE FERROLD

प्रकाश ढकाल,  कोपनहेगन 

सन् २०१० मा डेनमार्क आएका सञ्जीव यतिबेला काम खोज्दै गर्दा एक बेकरीमा पार्ट टाइम जागीरेको रुपमा डेनमार्कको जीवनमा आफ्नो क्यारियर सुरु गरेका थिए I आज १२ वर्षपछि त्यो समयलाई फर्कि हेर्दा उनलाई लागेको पनि थिएन कि आज उनले बनाएको केक डेनमार्कको यो वर्षको सबैभन्दा उत्कृष्ट बन्छ बन्छ भनेर।  तर आज त्यही भएको छ।  सञ्जीवले बनाएको केक डेनमार्कको वर्षभरिको उत्कृष्ट बनेको छ र प्रथम पुरस्कार पनि प्राप्त गरेको छ।

डेनमार्कका बेकरीहरूको आधिकारिक संस्था ”बेयर तथा कोन्डिटमेस्टर ई  डेनमार्क’ ले आयोजनामा गर्ने यो सबैभन्दा ठूलो प्रतियोगिता पनि हो।   उत्कृष्ट भए सँगै उनले १२ हजार डेनिस क्रोनर अर्थात् करिब २ लाख २० हजार नेपाली रूपैयाँ पनि जितेका  छन्। यो सँगै उनले ट्रफि र प्रमाणपत्र पनि प्राप्त गरेका छन्। 

सन् २०१९ मा यही  प्रतियोगितामा भाग लिएका उनी आठौं स्थानका आएका थिए  तर यसपाली सहभागी ७२ जनामा उत्कृष्ट केक बनाइ पहिलो स्थान प्राप्त गर्नु आफैँमा एक ठूलो सफलता भएको उनले बताए।  यो स्थानमा आइपुग्छु भन्ने उनले सोचेका पनि थिएनन् तर आज उनको मेहनत र काम प्रतिको लगावले सफलता प्राप्त गरे सँगै उनका लागि समय एक्कासि बदलिएको छ।  यो सफलता सँगै उनको सफलताको पछाडिको कथा पनि निकै रोचक छ।  

हाल उनी डेनमार्कको एक प्रतिष्ठित कम्पनी एन्डरसन बेकरीमा सेफ् बेकरको रुपमा सम्पूर्ण प्रोडक्टसन् को जिम्मा लिइ उक्त जिम्मेवारी बहन गरिरहेका छन्।  

डेनमार्क आए लगत्तै कोपनहेगन नजिकैको सोबर्ग भन्ने ठाउँमा काम पाएपछि त्यहाँ करिब छ महिना काम गरे तर त्यहाँ उनले चाहे जस्तो बेकरीमा काम गर्न नपाएपछि कोपनहेगनको मुटुमा अवस्थित टिभोलीमा रहेको एन्डरसन बेकरीमा मा बेकरको रुपमा काम गर्न माग् गरेकोमा त्यहाँ उनले निवेदन दिए तर शुरुमा उनी छानीन सफल भएनन्।  तर एक महिनापछि उनलाई त्यहाँ बाट बोलावट आयो र त्यहाँ उनले काम पाए।  त्यसपछि लगातार त्यहाँ उनले बेकरको रुपमा काम गरे। 

उनी बेकरको रुपमा काम गरे पनि कामले अनुभवी थिए तर त्यस सम्बन्धि पढाइ तथा कोर्स भने थिएन त्यसैले उनले बेकरी सम्बन्धी पढाइ शुरु गर्ने निर्णय गरे।  जील्याण्ड बिजिनेस कलेज रीङस्टेडमा बेकरी सम्बन्धी चार वर्षे पढाइ सुरु गरे।  पढाइमा प्राक्टिस पनि गर्नुपर्ने भएकोले उनले टिभोलीको निम्बमा विद्यार्थीहरूले गर्ने प्राक्टिस गरे। उनले बताए अनुसार त्यो बेला समय व्यवस्थापन गर्न निकै मुस्किल भएको थियो किनकी पढाइको अलवा काम पनि गर्नुपर्ने थियो।  

बेकरीमा कामको अनुभवी भएकोले उनले त्यो चार वर्षे कोर्स डेनमार्कमा केवल डेढ वर्ष मै सक्न सफल भए।  उक्त कोर्समा उनीले दोस्रो स्थान प्राप्त गरि सिल्बर मेडल प्राप्त गर्न सफल भएका थिए।  उक्त कोर्स सके पश्चात् उनी एन्डरसन बेकरीमा सेफ् बेकर को रुपमा कार्यरत छन्।  त्यहाँ उत्पादन देखि , गुणस्तर मापन गर्ने देखि लिएर सम्पूर्ण सामानको खरिद को जिम्मा उनको रहेको छ भने नयाँ नयाँ उत्पादन गर्नको लागि विधि पनि तयार गर्नुपर्ने उनको दायित्व छ।  प्रत्येक दिन २० थरीका बेकरी सम्बन्धी वस्तुहरू उत्पादनहरू गर्ने जिम्मेवारी उनकै हो।  एन्डरसन बेकरीमा जापानको कम्पनीको लगानी रहेको उक्त बेकरी डेनमार्कमा एक मात्र छ र प्रतिष्ठित मानिन्छ।  जापानमा उक्त कम्पनीका एक सय आउटलेट रहेका छन्।  

यसैगरि पछिल्लो समय उनले फ्रान्समा गई बेकरी सम्बन्धी उच्च अध्ययन गर्न पनि सफल भएका थिए।  डेनमार्कको ठूलो डुङ्गा कम्पनी ‘मार्स्क’ले दिने छात्रवृत्तिमा उनी पर्न सफल भएका थिए।  उक्त छात्रवृत्तिको लागि कोपननहेगन बेकरी एसोसिएसनले उनको नाम सिफारिस गरेको थियो।  त्यही छात्रवृत्ति अन्तर्गत फ्रान्स गई उच्च अध्ययन गरेका थिए। 

भविष्यको नेपालमा बेकरी स्कुल खोल्ने उनको योजना रहेको उनले बताए।  उनले बताए अनुसार “नेपालमा बेकरी को स्कोप ठूलो छ तर त्यस सम्बन्धी शिक्षा भने छैन’ ।  उनका अनुसार नेपालमा हामीले खाने पाउरोटीका पनि धेरै परिकार बन्छ भनि सिकाउन र उत्पादन गर्न आवश्यक रहेको उनले बताए। 

श्रीमती र एक छोरी सहित उनी कोपनहेगनमा बस्छन्। अरू जस्तै सामान्य रुपमा डेनमार्क आए पनि यहाँको डेनिस भाषामा पोख्त बनी यहाँको बेकरी सम्बन्धी पढाइ सफलता पूर्वक सम्पन्न गरि प्रतिष्ठित कम्पनीमा काम गर्न सक्नु उनको ठूलो सफलता हो।