गल्ती कमजोरीहरुबाट पाठ सिकेर अगाडी बढ्छौ : एनआरएनए कार्यकारी अध्यक्ष आचार्य 


बार्सिलोना। गैर आवासीय नेपाली संघ एनआरएनका कार्यकारी अध्यक्ष कुल आचार्यले विगतमा गरेका गल्तीहरुबाट पाठ सिकेर अगाडी बढ्ने बताएका छन्। एनआरएनए स्पेनले शनिवार बार्सिलोनामा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गल्ती कमीकमजोरीहरुबाट सिकेर अगाडी बढ्ने बताएका हुन्। 

दशौं अन्तर्राष्ट्रिय महाधिवेशन पछि कर्मथलो वेलायतबाट स्पेन आएका आचार्यले भने, ‘ मैले गल्ती गरे होला। छातीमा हात राखेर माफ माग्न तयार छु। मैले विगतमा गरेका सवै कमीकमजोरीहरुलाई यहाँ कोट्याउन चाहान्न। तर त्यहाँबाट पाठ सिकेर अगाडी बढ्न स्पेनबाट सम्पूर्ण गैरआवासीय नेपालीहरु माँझ सन्देश दिन चाहान्छु।’

आँफू एनआरएनए अभियानमा मुख्य पद सम्हाले लगत्तै स्पेनमा भम्रण गर्ने गरेको इतिहास दोहोरिएको बताउदै उनले स्पेनको नेपाली समुदायको खुलेर प्रंशसा गरे।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले तीन अध्यक्षसहित जम्बो पदाधिकारी टिमबारे प्रश्न उठाएपछि अध्यक्ष आचार्यले बिशेष परिस्थितिमा नयाँ अभ्यासको थालनी भएको बताए। ‘अहिलेको जम्बो पदाधिकारीहरुको संख्या देख्दा यो गाईजात्रा हो भन्ने कतिपयलाई लाग्न सक्ला। तर हामीलाई अप्ठ्यारोमा जुध्ने चुनौती हो भन्ने लागेको छ।’ उनले भने,

‘अप्ठारो परिस्थितिमा जम्बो कमिटीलाई मिलाएर काम गर्न सक्यौ भने एउटा नयाँ अभ्यासको पनि हुन सक्छ। त्यसैले हामी अबको समय कामतिर नै ध्यान केन्द्रित गर्ने प्रण गरेका छौ।’ 

एनआरएनए कार्यकारी अध्यक्ष आचार्यले यसअघि आँफूहरुबीच तीन बर्षको अवधिका लागि सहमति हुने गरि ड्राफ्ट नै तयार भईसकेको खुलासा समेत गरे। ‘आज म स्पेनबाट नै खुलासा गर्न चाहान्छु।  हामीले तीन बर्षका लागि सहमति गरौँ भनेर ड्राफ्ट पनि लेखेका थियौं।तर त्यसो गरेनौ।’ उनले भने,’ संसारभर एनसीसीहरुको भविष्यबारे सोच्यौं। हाम्रो कारणले एनसीसीको अधिवेशनहरु नविगारौ। त्यसैले सन् २०२५ सम्मका लागि सहमति हुँदाहुँदै पनि डेढ बर्ष नै मिलेर काम गर्ने निधो गरेका हौ।’

छोटो समयमा पनि काम गर्न सकिन्छ भनेर प्रमाणित गर्नुपर्ने चुनौती आँफूहरुको काधमा आएको आचार्यले बताए। ‘म फेरि पनि तपाईहरुसँग माफि माग्दै के अनुरोध गर्न चाहान्छु भने। यो अप्ठारो परिस्थितिमा तपाईहरुको पनि सकारात्मक सुझाव सहित उर्जंनशिल सहयोगको खाँचो छ।’ उनले भने। 

प्रमुख संरक्षक,सस्थापक अध्यक्ष लगायत पूर्व अध्यक्षहरुसहितको उच्चस्तरीय संयन्त्रमार्फत समस्या समाधान हुने बिश्वास नेतृत्वका आकांक्षीहरुलाई लागेको भएपनि त्यसो हुन नसक्नु दुर्भाग्य रहेको उनले बताए। ‘ उच्चस्तरीय संयन्त्रमार्फत समस्या समाधान हुने विश्वास थियो तर त्यसो हुन सकेन। नभईसकेपछि नै हामीले एउटा आम सहमति गरेका हौ।’ आचार्यले भने, ‘तर म के अनुरोध गर्न चाहान्छु भने कसैको व्यक्तिगत नियतले संस्थामा आँच नपुगोस्। अझै पनि सबै एकै ठाउँमा उभिनुको विकल्प छैन।’ 

नेपालका राजनीतिक दलहरुले आँफूहरु फुट्ने र जुट्ने गरेको बताउंदै एनआरएनलाई त्यसो नगर्न सुझाव दिएको अध्यक्ष आचार्यले स्मरण गरे। ‘ एनआरएनलाई एकजुट पार्न सबै दलहरुले भूमिका रह्यो। हामीले जे गरेका छौ। तपाईहरुले त्यो नगर्नुहोस् भन्दै दलका नेताहरुले सुझाव दिनुभएको हो।’

अहिलेको एनआरएनलाई सबै राजनीतिक दल लगायत नेपाल सरकारको सहयोग र साथ रहेको पनि उनले प्रष्ट पारे। दशौं अन्तर्राष्ट्रिय महाधिवेशन पछि नै एनआरएनएनले विभिन्न क्षेत्रमा सकारात्मक छनक दिईसकेको भन्दै अब काम गरेर नै संस्थाको उचाई माथि पुर्याउने आचार्यको दावी रहेको छ। एनआरएनए स्पेनका उपाध्यक्ष सोनु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव विदुर गौतमले गरेका थिए।

संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट तीन जना अध्यक्ष रहने गरी एनआरएनको नेतृत्वमा आचार्यसंगै डा,बद्री केसी र रविना थापा पनि चुनिएका थिए। उता पूर्व अध्यक्ष शेष घलेको समूहले गरेको अधिवेशनबाट दक्षिण कोरियाका बिनोद कुँवर अध्यक्षमा निर्वाचित भएका छन्।