नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु 


बार्सिलोना। नेदरल्यान्ड्सको पुरमेरेन्टमा आईतबार साँझ स्कुटरको ठक्करबाट गम्भिर घाईते बनेका एक नेपालीको उपाचारको क्रममा मृत्यु भएको छ। दाङ् मूल घर भएका ५६ वर्षीय बिकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आईतबार राति नै उपाचारको क्रममा निधन भएको हो। मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्। 

एनआरएनए नेदरल्याण्डस पूर्व अध्यक्ष मनोहरी शर्माका अनुसार पैदलयात्रा गरिरहेका उनलाई तिब्र गतिमा गुडेको स्कुटरले ठक्कर दिएको थियो। ‘आफ्नै पसलबाट घर फर्केने क्रममा दुर्घटना भएको हो।बसबाट झरेर उहाँ घरतर्फ जादै हुनुहुन्थ्यो। दुर्घटनालगत्तै हेलिकप्टरमार्फत अस्पताल पु-र्याईएको थियो। तर उपाचार हुँदै गर्दा उहाँको निधन भएको हो।’ पूर्व अध्यक्ष शर्माले भने।गम्भिर चोट लागेर घाईते बनेका शर्माको टाउकोको शल्यक्रिया गरिएको भएपनि सफल हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ। 

स्कुटरमा सवार दुई जना पनि घाईते भएको बताईए पनि घटनाबारे प्रहरीको आधिकारिक रिपोर्ट प्राप्त भईनसकेको शर्माले  बताए।

विगत १६ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएका शर्मा व्यवसायमा पनि संग्लग्न थिए।उनि नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधिको रुपमा पनि चुनिएका थिए। 

एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शर्माको निधनप्रति दुख ब्यक्त गर्दै नेदरल्यान्ड्सले मात्रै नभई सिंगो युरोपले नै एक सामाजिक व्यक्तित्व गुमाएको बताए। आचार्यका अनुसार मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाईसहित अन्त्येष्टि गरिने भएको छ। 

कोभिडका कारण अन्तिम श्रद्धाञ्जलीमा  ७० जना मात्रै  उपस्थिती हुन सकिने नियम रहेको हुँदा सोहि अनुसार उपस्थिति भईदिन नेदरल्यान्ड्सस्थित नेपाली समाजका अगुवाहरुले अनुरोध गरेका छन्।