समावेशी आयोगका सदस्य तिमिल्सिना स्पेनमा अभिनन्दित


बार्सिलोना। राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनालाई स्पेनको बार्सिलोनामा अभिनन्दन गरिएको छ। प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष समेत रहेका तिमिल्सिनालाई मञ्चले सोमबार एक कार्यक्रमको आयोजना गर्दै अभिनन्दन गरेको हो। 

झन्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका तिमिल्सिना राष्ट्रिय समावेशी आयोगका सदस्यमा मनोनित भएका थिए। उनले  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारको रुपमा पनि काम गरिसकेका छन्। 

स्पेनबासी नेपाली समुदायले आँफूलाई अभिन्दन गरेकोमा खुशी ब्यक्त गर्दै तिमिल्सिनाले भने, ‘नेपाल सरकारले आयोगको सदस्यमा मनोनित गर्नु भनेको प्रवासमा रहेका सबै नेपालीहरुलाई गरेको सम्मान हो। यो तपाई हाम्रो साँझा सम्मान हो भन्ने मैले प्रष्ट रुपमा बुझेको छु।’

उनले आफ्नो काँधमा जिम्मेवारी आएको बताउँदै काम गरेर देखाउने प्रतिवद्वता ब्यक्त गरे। ‘जुनसुकै पार्टीको सरकार आएपनि प्रवासी नेपालीहरुलाई सरकारको जिम्मेवारीपूर्ण ठाउँमा समेटेर लैजानुपर्छ भन्ने मेरो धाराणा हो।यहाँ सिकेको अनुभव हामीले देशलाई दिन सकिन्छ।’

‘असार १० गते पछि १३ वटा आयोगहरुमध्ये सय दिन मनाउने राष्ट्रिय समावेशी आयोग मात्रै थियो।’ तिमिल्सिनाले भने,’तपाईहरुले भनेजस्तै हामी काम गर्नकै लागि जिम्मेवारी लिएका छौ। सय दिनमा हामीले गरेका कामको विवरण नै प्रष्ट रुपमा सार्वजनिक गरिसकेका छौ।’

एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङले स्पेनको एक सामाजिक अभियन्ताले समावेशी आयोगमा रही काम गर्ने अवसर पाउनु समुदायकै लागि गर्वको विषय भएको बताए। मञ्चका पूर्व अध्यक्ष समेत रहेका गुरुङले  स्पेनका रहेका नेपाली संघसंस्थाहरुले विगतमा जस्तै हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड थिए। 

 कार्यक्रममा बक्ताहरुले प्रत्यक्ष तथा भर्चुअलरुपमा बोल्दै स्पेनका संघसंस्थाहरुबीच रहदै आएको एकता कायम हुनुपर्नेमा जोड दिए। 

यसैबीच मञ्चले  अग्रेजी नयाँ बर्षको उपलक्ष्यमा भित्ते पात्रो बिमोचन समेत विमोचन गरेको छ। प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव दिनेशराज रेग्मीले संचालन गरेका थिए।