एनआरएनद्वारा सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण


बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुरपश्चिम प्रदेशलाई  ‘मोबाइल ब्लड बैंक बस’  सहयोग गरेको छ ।विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा कुल ६० लाख लागतमा खरिद गरिएको बस सोमबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच संघले हस्तान्तरण गरेको हो। 

आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको संघले जनाएको छ।

संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई ‘मोबाइल ब्लड बैंक बस’  गरेका हुन् ।कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, सल्लाहकार कुल आचार्य लगायत एनआरएन अभियन्ताहरु सहभागि थिए।

‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको बताएको छ।