अध्यक्षमा पराजित भएपछि राईले भने, ‘स्पेनबाट सवैले सिकुन्।’


वार्सिलोना।  १५५ मतान्तरले पराजित भएपछि एनआरएनए स्पेनका अध्यक्षका प्रत्यासी उत्तरकुमार राईले निर्वाचन समितिलाई धन्यवाद दिएका छन्। विभिन्न देशहरुमा निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठिरहेका बेला उनले मतपरिणामबाट आँफू सन्तुष्ट रहेको बताएका छन्।

 ‘४६ प्रतिशत मत दिएर स्पेनबासिले मलाई गुन लगाउनु भएको छ। शालिक जीलाई अलि बढी दिनुभयो उहाँ विजयी बन्नुभयो। मैले त परिणाम आउने बित्तिकै फोनमार्फत बधाई पनि दिए।’ राईले भने। नयाँ टेक्नोलोजिको प्रयोग गर्दै अनलाईन भोटिङ्गमार्फत चुनाव हुँदा सबै मतदातालाई सहज भएकोमा उनले खुशी ब्यक्त गरे। 

निर्वाचनको क्रममा विभिन्न देशहरुमा झडप भईरहेकोप्रति  इंकित गर्दै उनले बिकसित देशमा बसेर यहाँ संस्कारलाई पनि सिक्नुपर्नेमा जोड दिए। ‘हारजित निर्वाचनको प्रक्रिया हो।अध्यक्षमा विजयी डुम्रे जीलाई पनि म पूर्ण रुपमा सहयोग गर्छु। चुनाव थियो सक्कियो अब मिलेर काम गर्ने हो।स्पेनको नेपाली समुदायबाट सबैले सिक्दा हुन्छ।’  उनले थपे। 

एनआरएनए स्पेनको सातौ अधिवेशनमा सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी भएका छन्। डुम्रेले १ हजार १८ मत प्राप्त गरे भने राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। 

२ हजार १९ पंजीकृत सदस्यहरु रहेको स्पेनमा १ हजार ९०४ जनाले अनलाईनमार्फत मतदान गरेका थिए। कुल मतदाता मध्ये ९४ प्रतिशत मतदानमा सहभागि बनेका छन्। यो एनआरएनए स्पेनको इतिहासमै सर्वाधिक बढी खसेको मत हो। 

सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो। अनलाईन भोटिङ्गको जिम्मेवारी साईटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोनाले लिएको थियो। निर्वाचन समितिका संयोजक हेम शेर्पा सहितको टिमले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको छ।