एनआरएनए बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी


बार्सिलोना । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्  बेल्जियमको अध्यक्षमा खड्क बहादुर केसी विजयी भएका छन् । केसीले ८५५ मत र उनका निकटतम प्रतिद्वन्द्वी चेतप्रसाद भट्टले ६०९ मत पाए भने अर्का प्रत्यासी अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छिन् ।

यसअघि आइतबार मतदान सकिन आधा घण्टाअघि एनआरएन बेल्जियमको मतपेटिका तोडफोड हुँदा विवाद भएको थियो । उम्मेदवार, निर्वाचन समिति र सामाजिक अगुवाहरुको सर्वपक्षिय भेलाले सहमत जनाउँदै सोमबारदेखि मतगणना शुरु भएको थियो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा (आईसीसी) पदका लागि रोशन जोशी (भीम) ७४४ मतका साथ विजयी बने । गंगाप्रसाद शर्मा पनि आईसीसी सदस्य पदमा निर्वाचित बनेका छन् । उनले ७१९ मत  प्राप्त गरे ।

उपाध्यक्षतर्फ लालबहादुर गुरुङ्ले ७१८ मत प्राप्त गर्दै विजयी बने । उपाध्यक्षमा नै तीर्थ धमला ६८६ मत ल्याउँदै निर्वाचित भए । युवा उपाध्यक्षमा राजेश केसी ८७१ मतका साथ विजयी बनेका छन् । महासचिवमा रमेश कँडेल ७७६ मत ल्याउँदै निर्वाचित भए । सचिवमा सुवास भट्ट ७३७ मत र जगदिश सापकोटा ६९७ मत प्राप्त गरी विजयी भएका छन् ।

कोषाध्यक्षमा पुष्प नेपाल ७२८ मत प्राप्त गर्दै निर्वाचित भए। यस्तै सहकोषाध्यक्षमा बेनी ढुंगाना ५५४ मतका साथ विजयी बनेका छन् । निर्वाचन समितिका सदस्य सचिव शिवकुमार वरुवालले मंगलबार विहान अन्तिम मतपरिणाम घोषणा गरेका हुन् । कार्यसमितिका अन्य पदहरुमा यसअघि नै निर्विरोध भएका थिए ।

घटनामा संग्लग्नलाई पञ्जीकृत सदस्यता नरहने गरी कारवाही गर्ने : आईसीसी 

गैरआवासीय नेपाली संघले (एनआरएनए) बेल्जियमको मतदान केन्द्रमा आक्रमणमा संलग्नलाई कारवाही गर्ने चेतावनी दिएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले सोमबार एक विज्ञप्ति जारि गर्दै घटनामा संलग्न ब्यक्तीहरु पहिचान भए पश्चात निजहरुलाई पञ्जिकृत सदस्यता नरहने गरी कार्वाही गर्ने चेतावनी दिएको हो ।

‘यस घटनाले गैरआवासीय नेपाली संघको पहिचान र छवी धमिल्याउने प्रयास भएको छ । विश्वमा रहेका सबै नेपालीहरु यस घटनाबाट मर्माहित भएका छन् । संघको संजलालाई खलबल्याउने काम भएकोमा सबै गैरआवासीय नेपालीहरु एकजुट भई यस प्रकारको घटनाको प्रतिकार गर्न आह्वान गर्दछौं र भविष्यमा यस प्रकारको घटना नदोहोर्‍याउन लागि सबैलाई सचेत गर्न चाहन्छौ’ संघको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार मतदान भइरहँदा विदेशी मूलका युवाहरु हलभित्र प्रवेश गरी मतपेटिका तोडफोड गरेका थिए । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित गैरआवासीय नेपाली सदस्यहरु प्रतिकार गर्दा सांघातिक आक्रमण भएको संघले जनाएको छ ।

निर्वाचन आयुक्त तथा आईसीसी सहकोषाध्यक्ष लोकप्रसाद दाहालले दुईहप्ताभित्र छानविन समितिले घटनाको सत्यतथ्य बाहिर ल्याउने बताएका छन् ।