एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध


बार्सिलोना। एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित हुने भएकी छिन्।  शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा लामाको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध अध्यक्ष बन्ने पक्का भएको हो। 

 विगत चार दशकदेखि स्वीट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रही काम गरेकी थिईन्। वर्तमान कार्यसमितिकी उपाध्यक्ष समेत रहेकी लामाले २०२१- २०२३ कार्यकालका लागि नेतृत्व सम्हाले भएकी हुन्। 

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा (आईसीसी) सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ। एनआरएन स्वीट्जरल्याण्डको इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुवै महिला बनेको यो पहिलो पटक हो।

संघको सातौं राष्ट्रिय महाधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध बनेको छ।कार्यसमिति उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती,महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमितिनै निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

अन्य केही पदहरूमा उम्मेद्वारी नपरेपछि पद रिक्त रहेको छ। जुलाई ११ मा हुने एनआरएनए स्वीट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न पदका लागि उम्मेदवारी मनोनयनको नामावली प्रकाशन शनिवार सम्पन्न भएको हो। 

को हुन् भावी अध्यक्ष लामा ?

एनआरएनए स्वीट्जरल्याण्डको भावी अध्यक्ष लामा युरोपमा नै निकै सक्रिय महिला मध्ये एक हुन्। गैर आवासीय नेपाली संघको १० औ युरोपस्तरीय महिला सम्मेलनमा लामा मोष्ट एक्टिभ महिला संयोजकको उपाधिले सम्मानित भएकी थिईन। युरोप क्षेत्रमा रहेका २० वटा महिला फोरममध्ये बिभिन्न गतिविधिमा अतिनै सक्रिय बनेका दुई एनसीसी राष्ट्र स्वीट्जरल्याण्ड र अष्ट्रियालाई ईटालीको रोममा सम्मान गरिएको थियो।

स्वीट्जरल्याण्डको ग्लारुस क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा बस्दै आएकी लामाकै पहलमा नेपालको पहिलो अस्पताल वीर अस्पताललाई १२ वटा ह्वीलचेयर सहयोग स्वरुप हस्तान्तरण गरीएको थियो।विकट जिल्लाहरुका गरिव तथा दलित महिलाहरुका लागि स्वीट्जरल्याण्डको महिला फोरमले उनकै नेतृत्वमा लाखौं रुपैयाँ सहयोग पठाएको थियो।

लामा सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आईरहेकी छिन् । उनीसँग  टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर काम गरेको पनि अनुभव छ।