मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय उपाधि


अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।

त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।

तर यस पटक भने अर्जेन्टिनाले हारको यात्रालाई ब्रेक लगायो । त्यसका लागि ब्राजिललाई घरमै पराजित गर्‍यो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनल पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो ।

मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेस्सीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरे ।