एनआरएन स्पेनको चुनाव :प्रत्यक्ष मतदान की अनलाईन भोटिङ्ग ?


निर्वाचन समितिका संयोजक हेम शेर्पा

बार्सिलोना, जुलाई १० 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आसन्न चुनावले स्पेनमा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी ह्ववात्तै बढेको छ।उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारलाई तिब्र बनाएता पनि एनआरएनए स्पेनको निर्वाचन प्रत्यक्ष कि अनलाईनमार्फत अझै निर्णय भईसकेको छैन।पछिल्लो क्रममा कोरोना भाईरसको संक्रमण स्पेनको क्याटालोनिया क्षेत्रमा बढ्दै गएपछि निर्वाचनबारे झनै अन्यौलता बढेको छ। 

निर्वाचन प्रक्रियाबारे जानकारीका लागि निर्वाचन समितिका संयोजक हेम शेर्पासँग हामीले कुराकानी गरेका छौ। संयोजक शेर्पासँग मूलत: एनआरएन स्पेनको चुनाव प्रत्यक्ष मतदान मार्फत हुन्छ कि अनलाईनमार्फत हुन्छ भनी जिज्ञासा राखेका छौ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :-

उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सक्कियो, अब चुनाव कसरी गर्नुहुन्छ ?

कुन माध्यमबाट चुनाव गर्ने बिषयमा केहि छिटफुट कुराहरु आईरहेका छन्। निर्वाचन समितिको तर्फबाट भन्नुपर्दा त अनलाईन नै गरौ भन्ने हो।अहिले कोरोना संक्रमण निकै बढिरहेको छ। हिजोअस्ति बीचमा अलि खुकुलो भएको थियो।अहिले ठाउँ ठाउँमा फेरि लकडाउन गर्ने कुरा सुनिएको छ। फेरि नयाँ नियमहरु आउने देखिएको छ। त्यसैले हामीले अनलाईन भोटिङ्गमा नै  जोड दिएका छौ। २ हजार २० जना पंजीकृत सदस्यता भएको स्पेनमा ५ ठाउँमा प्रत्यक्ष निवाचनका लागि मतदान केन्द्र राख्दै गर्दा भोलि यसैको कारणले संक्रमण बढ्यो भने त्यसको जिम्मेवारी कसले लिने ? यो एकदमै गम्भिर विषय हो। सवै उम्मेदवार,नागरिक समाज,संघसंस्थाहरु र महाधिवेशन आयोजक समितिलाई अनलाईन भोटिङ्ग सिष्टममा नै जोड दिन अनुरोध गरेका छौ। 

त्यसो भए अनलाईन भोटिङ्ग सिष्टमका लागि तपाईहरुको तयारी के छ ? 

अस्ति निर्वाचन समिति बसेर डेमो सुन्यौ। एनआरएन आईसीसीमार्फत अमेरिकाको एक सफ्टवेयर डेवलपर (Nepa -IT LLC,USA) कम्पनीको  सबै किसिमको डेमो हेर्यौं।  नेपाली समुदायले बनाएको सफ्टवेयरमा बढी विश्वसनीय देखेका छौ। यसले ७ भन्दा बढी निर्वाचन सम्पन्न गरेको र पूर्ण परिक्षण गरिएको पनि भेटियो। पारदर्शिताको हिसावले पनि उचित देखिएको छ। 

त्यसो भए खर्च कति लाग्दो रहेछ ?

सफ्टवेयर डेवलपर एक बिजनेसजस्तै हो।बढी फिचरहरु भएको किन्ने हो भने बढी विश्वसनीय हुन्छ। त्यसमा हामीले आईफोन किन्ने कि अन्य फोन किन्ने भनेजस्तै हो। सस्तो किन्ने कि महंगो तर राम्रो किन्ने ? त्यो हामीमा नै निर्भर रहन्छ। अधिवेशन आयोजक समितिले यो बारेमा निर्णय गरेर निर्वाचन समितिलाई छिट्टै जानकारी गराउनुपर्ने हुन्छ। सामन्यता ५ देखि ८ हजार डलर सम्म लाग्ने देखियो। १५ हजारसम्म तिर्नुपर्ने भन्ने हल्ला नै रहेछ। तर हामीले त्यो भन्दा धेरै कम रकममा नै किन्न सकिने रहेछ। पाँच वटा मतादान केन्द्रमा,निर्वाचन सामग्री तयार पार्दा, यावत कुराहरुमापनि  खर्च हुन्छ नै। तर सजिलो,सरल अनि आधुनिक प्रविधितिर ढल्कन पनि यो निर्वाचनले सहयोग पुर्याउने हुँदा अनलाईन भोटिङ्गमा सहमति गर्न अनुरोध गर्दछु। 

तर यसअघि आईसीसीले निशुल्क उपलब्ध गराउने प्रचार थियो त ?

हो आईसीसीले आफ्नै सफ्टवेयरको अबधारणा अघि सारेको छ।तर एउटा पनि निर्वाचन परिक्षण नभएकाले स्पेनजस्तो २ हजार बढी मतदाता भएको देशमा समस्या आउला कि भन्ने डर उहाँहरुमा देखियो। केन्द्रिय महासचिव डा. हेमराज शर्माले विभिन्न देशका निर्वाचन समितिका प्रतिनिधिहरु लगायत एनसीसी अध्यक्षहरुलाई ब्रिफिङ् गर्नुभएको थियो। ‘हामीले  सफ्टवेयर फ्री मा दिन्छौ भनेका थियौं। साना साना देशहरुमा त त्यो काम लाग्छ। तर एक्कासी ठुला देशमा अर्थात् बढी मतदाताहरु भएको देशमा अलि फिक्स भएन।’ महासचिवले भन्नुभयो।  त्यो पनि जुलाईको अन्तिमसम्ममा तयार हुने बताउनुभयो। त्यसैले हाम्रा लागि यो चुनावमा केन्द्रको सफ्टवेयरको आशा करिव करिव छैन भन्ने नै भयो। 

अब विकल्प के त ? तेस्रो पक्षबाट किन्ने ?

हो अव अनलाईन चुनावको लागि थर्ड पार्टीबाट नै लिनुपर्छ।यसपटक केन्द्रका लागि १ लाख पंजीकृत सदस्यहरु पुग्ने देखिन्छ। त्यो भनेको ४ -५ करोड रुपैयाँ हो। अनलाईन भोटिङ्ग हुने देशहरुका लागि केन्द्रले यही रकमबाट नै सफ्टवेयर फ्री गरिदिने हो कि ? केन्द्रिय महासचिवले तीन वटा बिकल्पको बारेमा बोल्नुभयो। पहिलो, आईसीसीले नै थर्ड पार्टीलाई तिरिदिने। दोस्रो केन्द्र र एनसीसीले आधा आधा व्यहोर्ने। र तेस्रो प्रत्यक्ष उपस्थित भएर गर्दा पनि खर्च हुने हुँदा यसपटक आईसीसीलाई लोड नदिने। सम्पूर्ण खर्च एनसीसीले नै व्यहोर्ने। त्यसैले एनआरएनए स्पेनको कार्यसमितिलाई केन्द्रको निर्णयबारे यथाशिघ्र निर्वाचन समितिलाई जानकारी गराउन म अनुरोध पनि गर्दछु। केन्द्रलाई छिटो निर्णय लिनका लागि दबाब दिन साथीहरुलाई अनुरोध गर्छु। तर मलाई जहाँसम्म लाग्छ आजभोलिमा अनि यसबारे निर्णय हुन्छ। 

स्पेनमा अनलाईन भोटिङ्ग गर्ने कि नगर्ने बारे कसले निर्णय गर्छ ? तपाईको समितिले की, एनआरएनए स्पेनको कार्यसमितिले ?

यो बारेमा निर्णय गर्ने जिम्मा हामीले आयोजक समितिलाई नै दिएका छौ। एनआरएनए स्पेनको कार्यसमितिको निर्णयलाई नै हामीले अन्तिम निर्णय मान्छौ। केहि साथीहरुले प्रत्यक्ष मतदान नै गर्नुपर्छ भनेर हामीलाई निबेदन पनि दिनुभएको छ। त्यो सम्बन्धि हामीले अहिले निर्णय गरीहालेका छैनौ। किनकी हामी एनसीसीको निर्णयको प्रतिक्षामा छौ।यसबारे सम्पूर्ण उम्मेदवार लगायत संघ संस्थाहरुलाई एकमत भई अगाडि बढ्न पनि म अनुरोध गर्दछु।  

अनलाईन भोटिङ्ग भै हाल्यो भने, एउटै डिभाईसबाट पटक पटक भोट हाल्न मिल्ने गरी राख्नुहुन्छ कि ! वा सफ्टवेयरमा कस्तो फिचर रहेछ ?

एउटा डिभाईसबाट धेरै भोट हाल्न मिल्ने फिचर पनि बिकल्पमा राख्न सक्छौ। तर त्यस्तो फिचर लिदा एक ब्यक्तिले नै धेरै जनाको मताधिकारलाई दुरुपयोग गर्ने खतरा हुन्छ। निर्बाचन पनि फियर हुँदैन। त्यसैले हामीले वान डिभाइस वान भोटको फिचरलाई नै प्रयोग गर्नेछौ। त्यही अनुसारको सफ्टवेयर किन्छौ। 

त्यसो भए अब एमआईएस सिष्टममा फारम भर्दा प्रयोग भएको ईमेल त महत्वपूर्ण हुनेभयो हैन ?

हो त्यो ईमेल आईडी निकै महत्वपूर्ण हुनेछ। एसएमएसमा कोर्ड आउदैन। त्यही फारम भर्दा लेखिएको ईमेलमा नै हामीले कोर्ड पठाउनेछौ। त्यहि आधारमा नै मतदान गर्न सकिनेछ। यद्दपी अनलाईन भोटिङ्को निर्णय भईसकेपछि यसबारेको सम्पूर्ण जानकारी सम्पूर्ण उम्मेदवार लगायत स्पेनबासि नेपाली समुदायमाँझ छिट्टै प्रस्तुत गर्नेछौ।