एनआरएनए स्पेनको निर्वाचन :आईसीसी सदस्यमा त्रिपक्षीय भिडन्त


बार्सिलोना। एनआरएनए स्पेनको सातौ अधिवेशनमा दुई आईसीसी सदस्य पदका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदमा दिनेश कुमार गिरी,प्रकाश तिमिल्सिना र यज्ञ नारायण पौडेल(रमेश) चुनावी मैदानमा उत्रिएका हुन्। 

 गिरी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्।स्पेन निवासी व्यवसायी समेत रहेका गिरीले सन् २०१७-१९ मा सचिव पदमा र २०१९-२१ मा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। यसअघि उनले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउदै आएका थिए।अन्तत उनले आईसीसी सदस्य पदमा उम्मेदवारी दिएका छन्।

तिमिल्सिना छैटौँ अधिवेशनमा पनि आईसीसी सदस्य पदका प्रत्यासी थिए। उनि संघका पूर्व उपाध्यक्ष समेत हुन्। यस्तै अर्का प्रत्यासी पौडेल बर्तमान कार्यसमितिकै सल्लाहकार हुन्। तीनै जना उम्मेदवारले सामाजिक संजालमार्फत आँफूलाई जिताउन स्पेनवासी नेपाली समुदायलाई अपिल गरेका छन्। 

‘निर्वाचन एउटा प्रक्रिया हो, प्रक्रियामा विजेता र उपविजेता हुन्छ नै।’ गिरीले भने, ‘तथापि यहाँहरुको निर्णयले विजेता हुन सके नसकेपनि आफ्नो लक्ष्यमा विचलित नभई निरन्तर थप लागिरहने प्रतिवद्धता जाहेर गर्दै यसपटक पनि यहाँहरुले अमूल्य मत दिएर निर्वाचित गराउनु हुनेछ भन्ने आशा तथा विश्वास लिएको छु।’

संघका पूर्व उपाध्यक्ष तिमिल्सिनाले समुदायप्रतिको निस्वार्थ लगाव सेवाभाव तथा सम्बन्धको निरन्तरताको लागि आँफूले आईसीसी सदस्यमा उम्मेदवारी दिएको जनाएको छन्।’मेरो पूरा समय पूर्ण रुपमा समुदायको हितका लागि समर्पण गर्ने वाचासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।’तिमिल्सिनाको बक्तब्यमा उल्लेख छ। उनले विगत १४ बर्षदेखि स्पेन बसाईको क्रममा विभिन्न समयमा अलग अलग संस्थामा रही काम गरेको अनुभव रहेको समेत उल्लेख गरेका छन्। 

अर्का प्रत्यासी पौडेलले एनआरएनए स्पेनको  विभिन्न पदमा रहेर वा पदमा नरहँदा पनि संस्थाका हरेक गतिविधिहरुमा प्रत्यक्षरुपमा सक्रिय रहदै सामाजिक काममामहत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।संस्थाको सुदृढीकरण र संस्थागत सवलीकरण गर्नुपर्ने बताउँदै पौडेलले भने, ‘आफूलाई पनि समाज सेवाको लागि एउटा उद्देश्य बोकेर आइसिसी पदको प्रत्याशीको स्वतंत्र रुपमा आफ्नो उमेद्वारी पेश गर्ने जमर्को गरेको छु।’ उनले वालवालिका तथा युवा पुस्तालाई संस्थाप्रति आकर्षित गर्न एउटा ठोस कार्य योजनासहित अघि बढ्ने प्रतिवद्वता ब्यक्त गरेका छन्। 

तिनैजनाले बुधबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारको अन्तिम नामावली प्रकाशन जुलाई १२ मा र निर्वाचन जुलाई २६ मा तोकिएको छ।संघले विद्युतीय मतदान गराउने बताउदै आएपनि मतदान प्रणाली र नतिजा प्रकाशनबारेको ठोस जानकारीसहितको विवरण निर्वाचन समितिले हालसम्म सार्वजनिक गरेको छैन। 

एनआरएनए स्पेनमा २ हजार २० जना पंजीकृत सदस्यहरु रहेका छन्। यिनै सदस्यहरुले संघको नयाँ नेतृत्व चुन्नेछन्। दुई हजारभन्दा बढी पंजीकृत सदस्य भएकाले एनआरएनए स्पेनमा दुईजना आईसीसी सदस्य निर्वाचित हुनेछन्।

यो पनि पढ्नुहोस् :-

एनआरएनए स्पेनको अध्यक्षमा राई र डुम्रेको उम्मेदवारी दर्ता