बार्सिलोनामा सूशी बनाउने तालिम सुरु


बार्सिलोना। कास्की आर्दश समाज स्पेनले जापानिज खाना ( सूशी) बनाउने तालिम सोमबार देखि सुरु गरेको छ। युरोपमा जापानीक खाना सूशीको माग बढिरहेका बेला समाजले वार्सिलोनाको आर्के तुरिममा तीन हप्ते सूशी बनाउने तालिम सुरु गरेको हो। 

हातमा सीप भए रोजगारीको अबसर मिल्ने भन्दै सीपमुलक तालिमको आयोजना गरिएको तालिम संयोजक देवी गौतम भण्डारीले बताईन्। तालिममा १६ जना सहभागीहरु रहेका छन्। जसमध्ये १० जना महिला र ६ जना पुरुष रहेका छन्। समाजका अध्यक्ष बल बहादुर कार्कीले तालिम लिन ईच्छुक अन्य १० जनालाई तालिममा सहभागी गराउन नसकिएको बताए। उनले भने, ‘कासाल दे बार्रिर ट्रान्सफोरमाडोरले हामीलाई तालिमका लागि हल उपलब्ध गराएको हो। कोभिडका कारण १६ जना भन्दा बढीलाई एकैपटक उपस्थित गराउन सकेनौं। धेरै जना पेन्डिङ्मा हुनुहुन्छ।’

पहिलो चरणमा छुटेका तालिम लिन इच्छुक नेपालीलाई दोस्रोचरणमा समाबेश गर्नेबारे समाजको नियमित बैठकमा छलफल गरिने अध्यक्ष कार्कीले बताए। 

यसअघि समाजले गत महिना बार्सिलोनामा सम्पन्न अन्तरसाँस्कृतिक कार्यक्रममा सहभागिता जनाएको थियो। बिभिन्न मुलुकहरुको कला, संस्कृति,भेषभूसा तथा रहनसहन झल्कने कार्यक्रममा समाजले नेपाली समुदायको प्रतिनिधित्व गरेको हो।

कोरोनाका कारण सामाजिक संस्थाहरुका गतिबिधिहरु शुन्य जस्तै रहेका बेला कास्की आर्दश समाज स्पेनले भने आफ्नो सक्रियतालाई भने निरन्तरता दिईरहेको छ। समाजले यसै बर्ष स्पेनमा स्पेनिश भाषा सिकाउने पुस्तक ‘ओला नमस्ते’ विमोचन गरेको थियो। ‘स्पेन आउने बित्तिकै सबैभन्दा ठूलो चुनौती भाषाको नै रहन्छ। सहज ढंगले स्पेनिश भाषा सिक्न मद्दत पुगोस् भनेर नै ‘ओला/नमस्ते ’ पुस्तक निकालेको समाजले स्पष्ट पार्दै आएको छ।