दिनेश कुमार गिरीद्वारा आईसीसी सदस्यमा उम्मेद्वारी घोषणा 


वार्सिलोना , जुलाई २ 

एनआरएनए स्पेनको अध्यक्ष पदमा दावी गर्दै आएका दिनेश कुमार गिरीले अन्तत: अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा  (आईसीसी) उम्मेद्वारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत रहेका गिरीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै आइसीसी सदस्य पदमा स्वतन्त्र रूपमा उमेद्बारी दिने घोषणा गरेका हुन्।

स्पेन निवासी व्यवसायी समेत रहेका गिरीले सन् २०१७-१९ मा सचिव पदमा र २०१९-२१ मा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। 

‘समाजिक सेवामा आवद्ध हुँदै गर्दा  नेपाल र नेपालीको सेवा प्रति मेरो भावना अझ सशक्त र उत्तरदायी बन्दै गइरहेको छ साथै यो समाजमा थप योगदान पुर्याउने अभिप्रायले यसपालि आइसीसी सदस्य पदमा आफ्नो उमेद्वारी पेश गर्ने जमर्को गरेको छु’ गिरीले बिज्ञप्तिमा उल्लेख गरेका छन्। 

उनले झन्डै १५ हजार नेपालीहरु रहेको स्पेनमा २ हजार मात्र  पंजीकृत सदस्यता लिनु र ति पनि कसैको खल्तीका भोट बन्नु बिडम्वनापूर्ण रहेको बताएका छन्। एनआरएन प्रति युवाहरुको आकर्षण बढाई बिभिन्न रचनात्मक काम गर्ने र   प्रत्येक नेपाली संस्थाको सदस्य बन्नेतर्फ पहलकदमी गर्ने प्रतिवद्वता समेत उनले गरेका छन्। 

‘निर्वाचन एउटा प्रक्रिया हो, प्रक्रियामा विजेता र उपविजेता हुन्छ नै।’ गिरीले भने, ‘तथापि यहाँहरुको निर्णयले विजेता हुन सके नसकेपनि आफ्नो लक्ष्यमा विचलित नभई  निरन्तर थप लागिरहने प्रतिवद्धता जाहेर गर्दै यसपटक पनि यहाँहरुले अमूल्य मत दिएर निर्वाचित गराउनु हुनेछ भन्ने आशा तथा विश्वास लिएको छु।’ 

आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिबेशनले २०२१- २०२३ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै छ।