पेनाल्टीमा स्पेनलाई पराजित गर्दै इटाली युरोकप फाइनलमा


(Getty Images / Pool: Carl Recine)

स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै बुधबार इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटमा अतिरिक्त समय थपिएको थियो। जसमा पनि कुनै गोल हुन सकेन।

पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे। स्पेनका ड्यानी ओल्मोले पनि पहिलो पेनाल्टीमा गोल गर्न सकेनन्।  उनको प्रहार आकासिएको थियो। यस्तै अल्भारो मोराटाको चौथो प्रहारलाई इटालीका गोलकिपर दोनारुमाले विफल पारिदिएका थिए। यस्तै स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो।

इटालीका लागि फेडेरिको चिएसाले ६० मिनेटमा गोल गरेका थिए। उनले इमोबिलको पासमा गोल गरेका थिए। त्यसअघि इटालीका इमरसनको प्रहार बारमा लाग्दा टिमले अग्रता लिने अवसर गुमाएको थियो। खेलको ८० मिनेटमा स्पेनले बराबरी गोल फर्काउन सफल भयो। स्पेनका लागि अल्भारो मोराटाले बराबरी गोल गर्न सफल भए।

मोराटालाई गोल गर्न ड्यानी ओल्मोले पास उपलब्ध गराएका थिए। मोराटा खेलको ६२ मिनेटमा फेरान टोरेशको स्थानमा मैदान छिरेका थिए। अब उपाधिका लागि इटालीले डेनमार्क वा इंग्ल्यान्ड मध्ये एक टिमसँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ।

जितसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३३ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो। यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो।