आज कुशे औशी ,बाबुको मुख हेर्ने पर्ब मनाइदै


काठमाडौं, भदौ ९-

आज कुशे औंशी अर्थात बावुको मुख हेर्ने दिन। हिन्दु परम्परा र संस्कृति अनुसार आजका दिन छोराछोरीले आफ्ना बाबुलाई ढोगभेट तथा उपहार दिने चलन छ। छोराछोरीले आ-आफ्ना बाबुलाई परिकारका मिठाई फलफूल आदि भोजन गराई बाबुको मुख हेर्ने पर्व मनाइने गरिन्छ । ब्राम्हण समुदायका मानिसहरु खासगरि कोही कोही पुरोहितहरुले आफ्ना जजमानका घरघरमा कुशको मुठा लगिदिने गर्छन् जसवापत उनीहरुले दान दक्षीणा प्राप्त गर्ने गर्छन्।

आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृदिवशको रुपमा मनाइने यस पर्वमा छोराछोरीहरुले आ-आफ्ना बाबुलाई त्यसरी सम्मान प्रकट गरी आशिर्वाद ग्रहण परम्परा रहन्दै आएको छ ।

आजभोलि काम बा पढाईको लागि लाखौ नेपाली बिदेशीको परिपेक्षमा पनि आजको दिन आफ्नो बाबुलाई फोन सम्पर्क गरेर सम्झना गर्दै कुराकानी गर्ने गरिन्छ।

आजै घर घरमा कुश भित्र्याउने गरिन्छ। आजकै दिन हिन्दु धर्मावलम्विहरुले विष्णुको अबतारका रुपमा पूजा गर्ने र वर्षभरि देवकार्य तथा पितृकार्यमा पवित्र मानि प्रयोग गरिने कुश घर घरमा भित्र्याएर मनाउने गर्दछन्। यसैगरी आज बुबाको मुख हेर्ने दिन बुबालाई विशेष आदर सत्कार साथ पुज्ने गरिन्छ। टाढा भएकाहरुले फोन गरेर भएपनि आफ्ना बाबुसँग कुरा गर्छन् भने नजिकै र सँगै भएकाहरुले ढोगभेट र उपहार प्रदान गर्ने गर्छन्।

बाबु दिवंगत भई सकेका छोराछोरीहरुले भने यस दिन राजधानीबाट करिव १२ किलोमिटर पूर्वतर्फ पर्ने बागमती नदिको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई आफ्ना दिवंगत बाबुको नाममा पिण्ड तर्पण गर्ने गरिन्छ।