आठ बर्षकी बालिकालाई घर मालिकले निर्घात कुटपिट गर्दै चरम यातना


भैरहवा, भाद्र ८ – बाल श्रमको शोषण गर्दै घरेलु कामदारको रुपमा राखिएकी आठ बर्षकी अबोध एक बालिकालाई घर मालिकले क्रुरतापुर्वक निर्घात कुटपिट गर्दै चरम यातना दिएका छन् । कुटपिट र र चरम यातना को पिडाले वालिका राम्ररी बोल्न समेत सकेकी छैनन् ।

पाल्पाको लुहुम भन्ने गाँउमा घर भई सिद्धार्थनगर नपा-७ रामजानकी पथस्थित राजन रसाईलीको घरमा घरेलु कामदारको रुपमा रहेकी शान्ता बिक (परिवर्तित नाम) लाई घरमालिक राजन रसाईली र उनको श्रीमती शिवु रसाईलीले चरम यातना दिदै क्रुरता पुर्वक कुटपिट गरेका हुन् । ति बालिकाको शरिरभरि बेल्ट (कमर पेटी) लगायत्ले पिटेको निल डाम छ । बायाँ हातको पाखुरामा कपडा प्रेस गर्ने ईस्त्री बिद्युतमा जोडेर पोलिदिएको डाम छ । घाँटी बटारेको देखिने दाग छ ।

प्रहरीका अनुसार, ति दम्पत्तिले शुक्रवार राती ९ बजे क्रुरतापुर्वक उनलाई कुटपिट गरेका थिए । प्रहरीले राजन र उनको श्रीमती शिवुलाई पक्राउ गरेको छ । घरमा पालिएको सुगा मरेको निहुमा वालिकामाथि पछिल्लो पटक अमानविय ढंगले कुटपिट भएको हो । बालिकालाई कुटपिट भैरहेको अवस्थामा वालिका पिडा चिच्याउन थालेपछि छिमेकीले थाहा पाएर प्रहरीलाई खवर गरेका थिए । घटना थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालयको गश्ती टोली घटनास्थल पुगि वालिकाको उद्धार गरेको थियो ।

बालिकाको आमाको मृत्यू भएपछि उनका वावुले राजनको घरमा घरेलु कामदारको रुपमा एक बर्ष अघि पठाएका थिए । पिडीतको पक्षबाट पिडकको बिरुद्धमा मुद्धा दायर गर्ने कोही नभएपछि जिल्ला वाल कल्याण समितिले पिडकको विपक्षमा आईतवार प्रहरीमा जाहेरी दरखास्त दर्ता गराएको छ । जिल्ला बाल अधिकृत राज्य लक्ष्मी गुप्ताले पिडकमाथि कारवाहीको माग गर्दै ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएको बताईन् ।

प्रहरीमा दिईएको जाहेरी अनुसार, वालिकामाथि दिनहुजसो कुटपिट गर्ने, यातना दिने, भाकै राख्ने र शिक्षादिक्षाबाट समेत बञ्चित गराईएको जनाईएको छ । वालिकालाई गर्न नसक्ने काममा लगाउने र काम नगरेमा कुटपिट गर्ने, विरामी पर्दा औषधी उपचार नगराई उल्टै मार्ने पिट्ने धम्की दिने गरेको अभियुक्तमाथि आरोप छ ।

आफुले पाएको यातना वालिकाले छिमेकीसंग रुदै बताउने गरेको र यसरी बाहिरी मानिसलाई घरको कुरा बताएको भन्दै रिशईवीले क्रुरतापुर्वक यातना दिएको अरोप जाहेरीमा छ । कुटपिट गर्दै शिवुले ईस्त्रीले डाम्न थालेको र राजनले वालिकाको घाँटि समेत च्यापेको आरोप लगाईएको छ । एडभोकेसी फोरम रुपन्देहीका अध्यक्ष तथा अधिबक्ता शिव गौडेलले बालिकामाथि कुटपिट गर्दै चरम यातना दिईएको बताए । ‘यस्तामाथि कानुनी कारवाही हुनै पर्छ’, गौडेलले भने ।

पक्राउ गरिएका राजन र शिवुलाई थप अनुशन्धानकालागि ५ दिनको म्याद अदालतबाट थप भएको छ ।

साभार – ई कान्तिपुर