नेकपा माओवादीका सचिव विप्लवका छोरा र भतिजी डेरामा बेहोस भेटीए


काठमाडौं भदौ,७-

नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा र भतिजी काठमाडौंको चाबहिलस्थित डेरामा बेहोस अवस्थामा फेला परेका छन् । शनिबार अपराह्न पाँच बजे डेरामा बेहोस भेटिएका दुबैलाई ओम अस्पतालको आइसियूमा राखिएको छ ।
बेहोस हुनेमा विप्लवका कान्छा छोरा नरेन्द्र चन्द र भतिजी मञ्जु चन्द रहेका छन् । मञ्जु अञ्दाजी १५ वर्ष र नरेन्द्र १४ वर्षका छन् । उनीहरुलाई बेहोस अवस्थामा छिमेकीले फेला पारेर आफन्तलाई खबर गरेको विप्लवका सहयोगी शुदर्शन मंगोलले अनलाइनखबरलाई बताए ।
‘बेलुका पाँच बजेतिरको घटना हो, उनीहरुको अहिलेसम्म होस नखुलेकाले घटनाबारे प्रष्ट हुन सकेको छैन, मंगोलले भने- ‘कसैले कोठामा आएर उनीहरुलाई बेहोस बनाएको अनुमान गरिएको छ, होस खुलेपछिमात्रै के भएको हो, भन्ने थाहा होला ।’
कोठामा नरेन्द्र र मञ्जूमात्रै रहेको अवस्थामा घटना भएको हो । विप्लव पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालगञ्जमा छन् भने विप्वलपत्नी पनि माइत गएकी थिइन् ।
घटनामा पर्ने भतिजी मञ्जु विप्लवका माल्दाइ जयन्द्र चन्दकी छोरी हुन् । ललितपुरको कुसुन्तीमा डेरा गरी बस्ने मञ्जु काकाको डेरामा आएका बेला यस्तो घटना भएको हो ।
विप्लवका दुई छोरा र एक छोरीमध्ये घटनामा पर्ने कान्छा छोरा हुन् । भाटभटेनीमा काम गर्ने जेठी छोरी काममा गएकाले डेरामा भाइ बहिनीमात्रै थिए । विप्लवका जेठो छोरा चितवनमा पढ्ने गरेकाले चाबहिलमा थिएनन् ।
शनिबार राति पौने ११ बजे सम्पर्क गर्दा ओम अस्पतालमै रहेका मंगोलले अहिलेसम्म दुबैको होस नखुलेको भनी अनलाइनखबरले लेखेको छ ।