मोबाइलबाट पनि बाढी पीडितहरुलाई सहयोग गर्न सकिने


लण्डन-

अब तपाईं आफ्नै हातमा रहेको मोबाइलबाट नेपालमा बाढी पीडितहरुलाई सहयोग गर्न सक्नुहुन्छ।

हेल्प नेपाल नेटवर्क युके र नेपाल पत्रकार महासंघ युकेले हाल नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो पीडितहरुकालागि आफ्नै मोबाइलबाट मानवीय सहायता गर्न बेलायतवासी नेपाली जनसमुदायलाई अपील गरेका छन्।
जसअनुसार एसएमएस गरेर कम्तीमा पाँच पौण्ड र बढीमा दश पौण्डसम्म सहयोग गर्न सकिन्छ।
त्यसकालागि 70070 मा सन्देश पठाउनुपर्छ। कोड FNJU58 टाइप गरेर आफुले सहयोग गर्न चाहेको रकम £5, £10 आदि टाइप गर्नु पर्छ। मेसेज पास भएपछि धन्यवाद भन्ने सन्देश आउँछ। त्यसमा गिफ्ट एड दिन चाहनुहुन्छ भन्ने सन्देशमा यस भनेमा ब्रिटिश सरकारले थप गर्ने २५ प्रतिशत रकम पनि सहयोगमै जोडिएर जान्छ।
“ब्रिटेनका च्यारिटीहरुले लामो समयदेखि एसएमएस मार्फत सहयोग संकलन गर्दै आइरहेका छन्। यो तरिका एकदमै सुरक्षित र भरपर्दो छ, त्यसैले ढुक्क भएर सहयोग गर्नुभएहुन्छ,” हेल्प नेपाल नेटवर्क युके कार्यकारिणी समितिका एकजना सदस्य रन्जन बरालले भने। यसरी संकलित रकम हेल्प नेपाल नेटवर्क युकेको खातामा संकलन हुनेछ।
यसबाहेक आफ्नो बैङ्क कार्डबाट सहयोग गर्न चाहनेहरुले https://www.justgiving.com/landslideFarwestNepal मा गएर पनि स्वेच्छिक सहयोग गर्नसक्नुहुनेछ।
“दाताहरुले उपलब्ध गराएको सम्पूर्ण रकम पीडित परिवारहरुसम्म पुराइनेछ र एक पैसा पनि प्रशासनिक तथा अन्य काममा खर्च गरिने छैन,” नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीले भने।
संकलित सहयोग आउँदो दशैं अगावै बाढी पीडित परिवारहरुसम्म पुराउन प्रयास गर्ने पनि ती संस्थाहरुले जनाएका छन्।