नेपालमा कोराना पुष्टि भएको संक्रमितको संख्या ३१ हजार १ सय १७


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म पुष्टि भएको संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मासिहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताए । प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय बालिका र ६७ वर्षका पुरुषको कोरोना बाट मृत्यु भएको हो ।

त्यस्तै कोरोना बाट पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ । बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको उनले बताए । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।


नेपालमा पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ रहेको छ भने आज सम्म संक्रमण निको भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेकाे छ ।