कास्कीमा वालुवाको मुल्य दोब्बरले बृद्धि


दिननाथ बराल पोखरा ६, भदौ
कास्की जिल्लामा रहेका नदी, खोला, घाटबाट प्राकृतिक श्रोत ( ढुंगा, गिटी, वालुवा) उत्खनन संकलन र विक्रि वितरण गर्न अनिश्चित कालिन रोक लगाए पछि वालुवाको मुल्य दोब्बरले बृद्धि भएको छ । साउन महिनाको अन्तिम साताबाट यसरी रोक लगाए पछि केहि व्यक्तिहरुले पहिले नै थुपारेर राखेको (स्टक) वालुवा हाल विक्रि वितरण गर्दा पहिलाको भन्दा दोब्बर मुल्य बृद्धि गरेका हुन् ।
धादिङ स्थायी घर भई विगत २५ बर्ष देखि पोखराको सेतिनदी रामघाटबाट वालुवा वोकेर आफ्नो जिविका चलाउदै आएकी सविता भट्टले हाल वालुवाको अभाव भएकोले भएको स्टक वालुवाको मुल्यमा दोब्बर भएको बताइृन । उनले हाल एक वोरा वालुवाको मुल्य ९० रुपैयामा विक्रि वितरण गर्दै आएकी छन । यस अघि यो वालुवाको मुल्य ४५ रहेको थियो । उनले भनीन “अब म संग दुई मिनि ट्रक जति मात्र स्टक वालुवा छ, यो विक्रि पछि के गर्ने कामको लागि भौतारीएकी छु ।” वालुवा नपाएकोले आफुहरुले बाध्य भएर मुल्यमा बृद्धि गरेको उनले बताईन । उनी जस्ता धेरै व्यक्तिहरुले पहिलाको वालुकाको मुल्यको दोब्बरले विक्रि वितरण गर्दै आएको बताएका छन ।
स्थानीय प्रकाश पहारीले सरकारले पुर्व सुचना विना नदी खोलामा बगेर जाने वालुवा निकाल्न नदिनु मजदुरहरुको रोजीरोटी माथि लात हानेको आरोप लगाए । वालुवा निकाल्न नपाए पछि माग धेरै भएकोले आफुहरुले स्टक राखेको वालुवाको मुल्य बृद्धि गराउन बाध्य भएको उनले बताए । प्रति घनमिटर वालुवाका पहिला १५ सय भए पनि हाल २५ सय देखि ३ हजारसम्म लिने गरेको उनले बताए । प्रति मिनि ट्रक वालुवाको मुल्य हाल ८ हजार ५ सय देखि ९ हजारसम्म लिने गरेको बताएका पहारीले पहिले सोहि वालुकाको मुल्य ४ हजार भएको बताए ।
निमार्ण व्याबसायि संघ कास्कीका सदस्य प्रेम पहारीले नदी नालामा बगेर जाने वालुवालाई मजदुरहरुले पैसाको रुपमा निकाल्न खोज्दा निकाल्न नदिएको आरोप लगाए । उनले यही स्थितीमा अघि बढे दोश्रो हप्ताबाट संघले पनि सम्पुर्ण निमार्ण योजना बहिष्कार गर्ने बताए । विगत दुइ हप्ता देखि पोखराको रामघाट क्षेत्र सहित अन्य घाटबाट ढुंगा, गिटी, वालुवा उत्खनन गर्न नदिएकोले आफुहरुको रोजिरोटि खोसिएकोले यसको विकल्प स्थानीय प्रशासनले दिनुपर्ने कास्की वालुवा खानी मजदुर समितिका अध्यक्ष कर्ण बहादुर पुनले बताए । घाटमा प्रत्यक्ष आश्रित १५ हजार मजदुरहरुको हाल रोजिरोटि खोसिएको उनले गुनासो गरे ।
जिल्ला अनुगमन तथा समन्वय समिति कास्कीका अध्यक्ष एवं कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा हालै बसेको बैठकले कास्कीका खोला, नदी तथा घाटबाट प्राकृतिक श्रोत ढुंगा, गिटी, वालुवा उत्खनन, संकलन तथा विक्रि वितरण गर्न अनिश्चित कालिनको लागि रोक लगाइएको हो । नेपाल सरकारले असार, साउन  र भदौ महिनामा कुनै पनि खोला, नदीकिनारा तथा घाटबाट गिटी, वालुवा तथा ढुंगा उत्खनन, संकलन र विक्रि वितरण गर्न रोक लगाउदै आएको छ ।
कास्कीको हकमा अन्य जिल्ला भन्दा प्राकृतिक श्रोत उत्खनन भएको स्थलहरुमा बढी खतरा बढ्दै गएकोले हाल आफुहरुले अनिश्चत कालका लागि ढुंगा, गिटी, वालुवा उत्खनन, संकलन र विक्रि वितरण गर्न रोक लगाइएको कास्कीका निमित्त स्थानीय विकास अधिकारी नारायण प्रसाद श्रेष्ठले बताए । पोखराको रामघाट र याम्दी क्षेत्रमा भने संरक्षणको प्रत्याभुति नभएसम्मको लागि प्राकृतिक श्रोत ( ढुंगा, गिटी, वालुवा) उत्खनन संकलन र विक्रि वितरण गर्न रोक लगाउने तयारी भएको श्रेष्ठले जनाए ।