ह्याप्पीले पायो सञ्चालन अनुमति


सन्देश श्रेष्ठपोखरा, ६ भदौ

२० वर्षदेखी अनुमति नपाएको पोखरा मासवारको ह्याप्पी बोर्डिङ स्कूलले विद्यालय सञ्चालन गर्ने अनुमति पाएको छ । विद्यालय सञ्चालन अनुमति निर्देशिका अनुसार शैक्षिक सत्र शुरु हुनुभन्दा ३० दिन अघि नै विद्यालय सञ्चालन अनुमति दिइसक्नु पर्ने भएपनि त्यसको ठाडो उलंघन गर्दै शैक्षिक सत्र शुरु भएको ४ महिना पछि शिक्षा विभागले ह्याप्पी बोर्डिङ स्कुललाई विद्यालय सञ्चालनको अनुमति दिएको हो । त्यस्तै, विद्यालयलाई हरेक वर्ष १ कक्षाको दरले अनुमति दिने प्रचलन भएपनि मन्त्रीस्तरीय निर्णय भन्दै ह्याप्पीलाई एकैपटक ५ कक्षासम्मको अनुमति दिईएको छ ।
ह्याप्पी बोर्डिङ स्कुलका सञ्चालक कविराज बरालले सोर्सफोर्स लगाएर विद्यालयको अनुमति पत्र लिएका हुन् । उनले नेपाली कांग्रेसका उप सभापति रामचन्द्र पौडेलको दवाबमा कांग्रेसकै नेतृ समेत रहनुभएकी शिक्षामन्त्री चित्रलेखा यादव मार्फत विद्यालय सञ्चालनको अनुमति लिएको बताईन्छ । निर्देशिका विपरित विद्यालय सञ्चालन अनुमति दिईएकोमा अगुवा शिक्षासेवीहरुले विरोध जनाएका छन् ।
विद्यालयलाई अनुमति दिईसकेको जिल्ला शिक्षा अधिकारी अम्विका आचार्यले पुष्टी गर्नुभयो । उहाँले ह्याप्पी बोर्डिङ स्कुललाई जिल्ला शिक्षा कार्यालयले रोकेपनि मन्त्री स्तरीय निर्णयबाट अनुमति दिईएकाले अब कार्यान्वयनमा जाने रेडियो अन्नपूर्णलाई बताउनुभयो ।