शुक्ला साहित्य संगम तनहुँले छैटौं अधिवेशन तथा कवि गोष्ठी सम्पन्न


पोखरा २ भदौ-
शुक्ला साहित्य संगम तनहुँले छैटौं अधिवेशन, १ सय ३० औं रचना वाचन शृंङ्खलासँगै कवि गोष्ठी सम्पन्न गरेको छ । अधिवेशन तथा गोष्ठीको उद्घाटन गर्दै कवि गजलकार दीपक समिपले राजधानी बाहिर शुक्लाले राष्ट्रिय स्तरको कार्यक्रमहरु गर्दै आएको वताए ।
उनले साहित्यमा मोफसल भन्ने कुरा नसोंचि लेखन तथा पठन संस्कृति बढाउने हो भने यही ठाउँवाट राष्ट्रिय स्तरको कवि जन्मन सक्ने बताए । उनले मोफसलवाट राष्ट्रिय स्तरमा चिनिएका साहित्यकारहरुको उदाहरण दिँदै भने–‘मोफसर र केन्द्र कर्मले बनाउने कुरा हो । राम्रो कर्म गर्नलाई राजधानी मै हुनुपर्छ भन्ने हुँदैन, कर्म गरौं–फल अवश्य मिल्छ ।’
साहित्यकार दधिराज सुबेदीले शुक्लाले राष्ट्रिय स्तरका कार्यक्रमहरु गरे पनि राष्ट्रिय स्तरवाट कुनै सहयोग नमिलेको बताए । देश तथा प्रदेशमा रहेका साहित्यकारहरुको कविता संग्रह प्रकाशित गरी शुक्लाले राम्रो काम गरे पनि चिनजान, केन्द्रमा रहेका साहित्यिक कृतिहरुले मात्र पुरस्कार पाउने परिपाठीका कारण यो पुस्तक छायाँमा परेको दाबी गरे ।
साहित्यकार शेषमणी आचार्यले शुक्लाले देशदेखि विदेशसम्म जोड्ने काम गरेको बताए । शुक्लाले हालै प्रकाशन गरेको कविता विशेषाङ्क राष्ट्रिय स्तर मै त्यतिको उत्कृष्ट किताब ननिस्केको बताए ।
शुक्ला साहित्य संगमले राष्ट्रिय स्तरको पुरस्कार स्थापना गर्ने भएको छ । पुरस्कारका लागि करिव २ लाख रुपैयाँ जम्मा भैसकेको संगमले जनाएको छ । हरेक बर्ष साहित्यकार छुट्टाछुट्टै विधामा विशेषाङ्क प्रकाशन गर्दै आएको संगमले यस पुरस्कार सँगै राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरु गर्ने योजनामा रहेको छ ।
संगमको छैटौं अधिवेशनवाट जनार्दन दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।