पोखरा बृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर हुने


भाद्र २, पोखरा
पोखरा बृद्धाश्रममा मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा पाक्षिक रुपमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । जसका लागि मनिपाल अस्पतालका तर्फबाट चिकित्सक तथा प्राविधिक, लायन्स क्लव अफ पोखरा मुनालबाट सवारी साधनमा चिकित्सकहरुलाई ल्याउने लैजाने व्यवस्था मिलाउने सहमति भएको छ ।
पोखरा बृद्धाश्रम परिसरमा आइतबार एक विशेष कार्यक्रमका वीच शिविरको उद्घाटन भएको छ । २ बर्षका लागि लायन्स क्लव अफ मुनालसँग सहमति भएकाले पोखरा बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुको नियमित स्वास्थ्य जाँच हुनेछ ।
मनिपाल अस्पताल तथा लायन्स क्लवले समेत आवश्यक औषधिहरु समेत उपलब्ध गराउन पहल गर्ने जनाएका छन् । लायन्स क्लव अफ मुनालका अध्यक्ष कविराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका प्रोफेसर डाक्टर ए.एल शर्मा को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै डा.शर्माले पोखरा बृद्धाश्रममा लायन्स क्लवसँगको सहकार्यमा सेवा पु¥याउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले बृद्धाश्रम सञ्चालनका लागि चिकित्सक तथा लायन्सका सदस्यहरुको महत्वपूर्ण सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लायन्स क्लव अफ मुनालका पदाधिकारी तथा सदस्यहरु, मनिपाल अस्पतालका चिकित्सकहरु, पोखरा बृद्धाश्रमका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
पोखरा बृद्धाश्रममा हाल बृद्ध बृद्धा, सेवक सेविका गरी ६५ जना रहेका छन् भने बृद्धाश्रमले मासिक रुपमा बृद्ध आवाज नामक पत्रिका प्रकाशन गर्दै आएको छ । बृद्धाश्रममा निर्माणाधीन भवनका लागि सहयोग गर्न समेत बृद्धाश्रमका तर्फबाट अनुरोध गरिएको थियो ।