राष्ट्रपतिको उपस्थितिमा लोलुफेरा पदयात्रा आजबाट, विज्ञ सहितको ४० जनाको टोली पदमार्गमा हिड्दै


पोखरा, १ भदौ
नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने तथा पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन विकासको लागि शुरु गर्न लागिएको लोलुफेरा पदमार्गमा यात्रा आजबाट शुरु हुदैछ । राष्ट्रपति डा. रामबरण यादवको उपस्थितिमा आज दिउँसो पोखराबाट पदयात्रा शुरु हुने भएकोे हो । कार्यक्रमको लागि सबै तयारी पुरा भएको छ ।
पर्यटनकर्मी, उद्योगी व्यवसायी, शिक्षक, बिद्यार्थी, पेशाकर्मी तथा आम सर्वसाधरण संयौं मानिसहरुको उपस्थितिमा भव्य कार्यक्रमका बिच लेकसाइडको रत्न मन्दिरमा लोलुफेरा पदमार्गको यात्रा उद्घाटन भएको छ । । कार्यक्रम संयोजक सुर्य भुजेलले लोलुफेरा पदमार्गको पदयात्राको लागि सबै तयारी पुरा भएको बताए ।
उनले राष्टपतिको उपस्थितिमा हुने कार्यक्रममा सबैलाई सहयोग र सहभागिताको लागि अनुरोध पनि गरेका छन् । ‘तयारी सबै पुरा भएको छ, राष्ट्रपतिको उपस्थितिमा रत्नमन्दिर लेकसाइडबाट कार्यक्रम थालनी औपचारिक रुपमा हुदैछ’ भुजेलले भने, ‘पोखरा र यो क्षेत्रको विकासको लागि अभियान थालिएको हो सबैलाई सहयोग र आज दिउँसो सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।’
फेवातालदेखि बागलुङको ढोरपाटन हुदै रारातालसम्म र लुम्बिनीदेखि मुस्ताङको लोमान्थाङसम्म पदयात्रा शुरु हुनेछ । आज दिउँसो फेवातालबाट पुम्दिभुम्दी हुदै पञ्चासे, पर्वत, बागलुङ हुदै ढोरपाटन देखि मुगुको रारा ताल पुग्ने छ । लोलुफेरा विकास मञ्च नेपालको नेतृत्वमा हुने पदमार्गमा पर्यटन व्यवसायी, सरकारी, गैरसकारी तथा उद्योगी व्यवसायीले सघाएका छन् । पदयात्रामा ४० जनाभन्दा बढि सहभागि हुनेछन् ।
पदमार्गका अगुवा कृष्ण के.सीले पर्यटन र यस क्षेत्रको विकास तथा पुर्वाधार निर्माणको लागि पदयात्राले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘पर्यटन प्रबद्र्धन गरि बढि भन्दा बढि पर्यटक भित्र्याउने उद्देश्यका साथ पदयात्रा शुरु गर्न लागिएको हो’ के.सीले भने, ‘सबै तयारी पुरा भएको छ आजबाट विज्ञसहितको ४० जनाको टोली हिड्ने छ ।’ आजबाट शुरु हुने पदयात्रा झण्डै डेड महिनाको हुनेछ । सगरमाथाका सफल आरोहि तथा एमाओवादीका युवा नेता के.सीको अगुवाइमा पदयात्रा शुरु हुने भएको हो ।
टोलीमा पर्यटन, सञ्चार, विकास निर्माण लगायतका अन्य विज्ञहरुको पनि सहभागिता रहनेछ । आजको उद्घाटन कार्यक्रममा क्रिकेटका राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रविधि विज्ञ महाविर पुनलाई सम्मान गर्ने कार्यक्रम छ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी), बरिष्ठ जनकलाकार जीवन शर्मा, कलाकारहरु बद्री पंगेनी, बि.बि.अनुरागी, हेमन्त शर्मा, ऋषि लामिछाने लगायतका कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।
‘नयाँ पदमार्ग पहिल्याएर पर्यटन वृद्धि गराउनको लागि पदयात्रा शुरु हुनेछ’ के.सीले भने, ‘फेवातालदेखि बागलुङको ढोरपाटनहुदै राराताल र लोमान्थाङदेखि लुम्बिनीसम्मा पैदल हिडेर नयाँ पर्यटकीय पदमार्ग विकास गर्न अभियान थालिएको होे ।’ नयाँ पर्यटकीय स्थानहरुको पहिचान गरेर पर्यटनका लागि विकास गर्न मद्दत गर्ने र अन्य पूर्वाधारहरु निर्माण गर्ने तथा पैदल मार्ग बनाउने उद्देश्य रहेको छ । कास्की, पर्वत, बागलुङका विभिन्न गाउँमा होमस्टे विकास गर्ने लगायतको कार्ययोजना समेत रहेको छ ।