प्रहरीको घेरामा ७ सय कर्मचारी सरुवा


३१ साउन, काठमाडौं

सामान्य प्रशासन मन्त्रालयले शुक्रबार प्रहरी सुरक्षामा झन्डै ७ सय २२ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले निजामती सेवा नियमावलीअनुसार हरेक वर्ष साउनमा अन्तरमन्त्रालयस्तरको सरुवा गर्ने गरेको छ ।
कर्मचारी सरुवाबारे कर्मचारी संगठन र मन्त्रालयबीच शुक्रबार दिउँसो विवाद भएको थियो । असन्तुष्ट पक्षले मन्त्रालयलमा तोडफोड गर्ने प्रयास गरेपछि सुरक्षाका लागि प्रहरी बोलाइएको थियो । मध्यान्हपछि सुरक्षामा खटिएका प्रहरीले मन्त्रालयका कर्मचारी बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको नयाँ पत्रिकामा खबर छ ।

मन्त्रालयका पवक्ता सुरेश अधिकारीले विभिन्न तहका गरी सात सय २२ कर्मचारी सरूवा गरिएको र सरूवा निर्णयको विवरण शुक्रबार राति नै मन्त्रालयको वेबसाइटमा राखिएको जानकारी दिए । सामान्य सुरक्षा थ्रेट भएकाले सुरक्षाकर्मीको सहयोग लिएको उनले बताए । मन्त्रालयले बनाएको मापदण्डअनुसार नै कर्मचारी सरूवा गरिएको प्रवक्ता अधिकारीले दाबी गरे ।

मन्त्रालयले केही दिनअघि १२ बुँदे सरुवा मापदण्ड बनाएको थियो । सरूवाका लागि झन्डै एक हजार सात सय कर्मचारीको निवेदन परेको थियो । शुक्रबार उपसचिव ५९, शाखा अधिकृत १२०, नायव सुब्बा १०६, खरिदार झन्डै १७६ तथा कम्युटर अपरेटर ५५ र र टाइपिस्ट २० जनाको सरुवा भएको मन्त्रालय स्रोतले बतायो ।