‘व्यवसायीहरुको साथले थप उत्साह थपेको छ’–थापा


श्रावण ३१, पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको साधारणसभा तथा महाधिवेशन नजिकिदै जादा अध्यक्षका प्रत्यासी विन्दु कुमार थापा समुहले चुनावी प्रचारलाई निरन्तरता दिएको छ । उनीहरुले शुक्रवार पोखराको लेकसाइड, न्यूरोड, सिद्धार्थचोक, चिप्लेढुङ्गा लगायतका क्षेत्रमा पुगी व्यवसायीहरुलाई यसपटक आफ्नो समुहलाई साथ दिन आग्रह गरे ।
सो क्रममा व्यसायीहरुले अबको नेतृत्व तपाइँको हो भन्दै निर्धक्कसाथ चुनावी मैदानमा जान सल्लाह दिएको प्रचारप्रसारमा सहभागी पूर्व उपाध्यक्ष समेत रहेका सदस्य पदका उम्मेदवार देव क्षेत्रीले जानकारी दिए । ‘व्यवसायीको यो भनाईले मलाई थप उत्साह थपेको छ’ संघका प्रथम उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उम्मेदवार थापाले भने । उनले सञ्जिव बहादुर कोइरालाको कार्यकाल सफल रहनुमा आफ्नो साथ रहेको जानकारी दिदै अबको नेतृत्वका लागि सम्पूर्ण व्यवासायीहरुले आफूलाई पनि साथ दिनेमा ढुक्क रहेको बताए ।
‘समृद्ध पोखरा, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अध्यक्षका प्रत्यासी थापा र सदस्यका १३ जना उम्मेदवारहरु घरदैलोमा पुगि सहयोगको लागि आग्रह गरे । हालका प्रथम उपाध्यक्ष थापाले २९ औ महाधिवेशनमा सञ्जिव बहादुर कोइरालालाई समर्थन गरेपछि सर्वसम्मत भएको थियो । कोइरालाले सर्वसम्मत अध्यक्ष पाएपछि ३० औं महाधिवेशनमा थापालाई साथ दिने लिखित प्रतिवद्धता समेत गरेका थिए । तर आउदै गरेको महाधिवेशनमा पनि अध्यक्ष नछाड्ने बताएकाले कोइरालाले व्यवसायीक बेइमानी गरेको सदस्य पदका उम्मेदवार पुष्पराज पराजुलीले बताए ।
पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको नेतृत्वको लागि संजिव बहादुर कोइराला र विन्दुकुमार थापा चुनावी मैदानमा उत्रेका छन् । आगामी भदौ २० र २१ गते संघको ३० महाधिवेशन तथा ६० औ साधारणसभा हुदै छ ।संघका करिव २ हजार २ सय मतदाता रहेका छन् ।
थापाको समुहमा वर्तमान कोषाध्यक्ष रविन्सन प्रजुसहित पूर्व उपाध्यक्ष देव क्षेत्री र कार्यसमितिका सदस्यहरु मिनराज काफ्ले, दीलिपराज श्रेष्ठ, विन्दु कोइराला सुवेदी, प्रकाश देव पालिखे, पवन प्रजापति, इन्द्र कुँवर लगायत रहेका छन् । यसैगरि पुष्पराज पराजुली, सीता गुरुङ, गिरीधारी शर्मा र नारायण पौडेल, जनकराज पराजुली र हरिराज पन्त नयाँ उम्मेदवार छन् ।