अपाङ्ग सम्वन्धि ऐन, नियम कार्यान्वयनमा फितलो


माधव बराल

पोखरा, २९साउन

अपाङ्गता भएका व्यक्तिहरुलाइ आर्थिक रुपमा सवल र समाजमा सचेतना फैलाउन सकेमात्र उनीहरुको अधिकार सुनिश्चित हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वावलम्बन जीवनपद्धती समाज नेपालले आज पोखरामा गरेको सरोकारवाला बीच अपाङ्गता सचेतना कार्यक्रममा, उनीहरुले फरक क्षमता भएका व्यक्तिको पक्षका ऐन, नियम बनेपनि कार्यान्वयन पक्ष निकै फितलो रहेकोको बताए ।

कार्यक्रममा बोल्दै पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले फरक क्षमता भएका व्यक्तिको हक, हितको पक्षमा धेरै ऐन, नियम बनेपनि कार्यान्वयन पक्ष फितलो रहेकोले त्यसलाई कार्यान्वयनमा ल्याउन सरोकारवाला सबैको एउटै धारण हुनुपर्ने बताउनुभयो ।गरपालिकाले अपाङ्ग मैत्री वातावरण बनाउन लागि परेको बताउनुभयो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका शाखा अधिकृत उमादेवी शर्मा अधिकारीले कार्यालयले अहिलेसम्म २ हजार ३ सय ४८ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको बताउनुभयो ।राष्ट्रिय मानव अधिकार आयोग पोखराका खेमलाल सुवेदीले अपाङ्ग कल्याण ऐनलाई समयसापेक्ष परिमार्जित गर्नुपर्ने बताउँदै त्यो ऐन कल्याण मुखी भएकाले अधिकारमुखी बनाउनुपर्ने बताउनुभयो ।कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापाले अपाङ्गता भएका विद्यार्थींलाई कार्यालयले छात्रबृत्ति प्रदान गर्दै आएको बताउनुभयो ।

गैसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले अपाङ्गाता भएका व्यक्तिलाई विभिन्न सार्वजनिक सवारी सधानको साथै अन्य ठाउँमा दिइएको छुट लागु हुन नसकेको बताउनुभयो ।आयोजक संस्थाका कोषाध्यक्ष अञ्जना केसीले अपाङ्गगता भएका व्यक्तिलाई आर्थिक रुपमा सवल बनाउनतर्फ सबैको ध्यानजानुपर्ने बताउनुभयो ।

स्वाबलम्बन जीवनपद्धती समाज नेपालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति कास्कीका सामाजिक विकास शाखा प्रमुख अर्जुन न्यौपाने, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका मित्र अर्याल, आयोजक संस्थाका उपाध्यक्ष हितमान छन्त्याल र महासचिव हेम गुरुङले अपाङ्गता भएका व्यक्तिका बारेमा बोल्नु भएको थियो ।