कोरिया जान फारम भर्नेको भीड पोखरामा पहिलो दिन ४ हजारले फारम भरे


माधव बराल
पोखरा, २९ साउन

रोजगार अनुमति प्रणाली (इपीएस) अन्र्तगत कोरिया जनाको लागि भाषा परीक्षाको फारम भर्न पोखराको विन्धवासिनी उच्च मावि बाटुलेचौरमा युवाहरुको बाक्लो भीड लागेको छ ।

पोखरामा पहिलो पटक कारिया भाषा परीक्षाको फराम भर्ने व्यवस्था मिलाइएको हो । आगामी असोज १० र ११ गते हुने भाषा परीक्षाको फारम भर्न हिजोदेखि नै परीक्षार्थी लाइन बसेका थिए । परीक्षाको फारम भर्न हिजो विहान ११ बजे विन्धवासिनी उच्च मावि पुगेका पोखरा चाउथेका कमल बन्जाडेले आज ११ बजे मात्र फारम भरेर बुझाएको बताउनुभयो । भीडलाई नियन्त्रण गर्न प्रहरीले सामान्य बल समेत प्रयोग गरेको थियो ।

उहाँका अनुसार हिजो विहान १० बजेदेखि नै परीक्षार्थीको लाइन लागेको थियो । विन्धवासिनी उच्च माविका प्राचार्य खिमलाल अधिकारीका अनुसार पहिलो दिन करिव ४ हजारले फारम भरेका छन भने साउन ३१ गतेसम्म फारम भर्न सकिनेछ ।

फराम भर्नका लागि महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ भने आज करिव ५ सय महिलाले फराम भरेका छन् । आज लाइनमा बसेर पनि साँझ ५ बजेसम्म फारम भर्न नपाएकालाई कुपन दिइएको छ । भोली कुपन हुने र नयाँ आउनेलाई पनि छुट्टै लाइनमा बसेर फारम भर्ने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।देशका विभिन्न शहरमा पनि फारम भर्नेको निकै भिड लाग्ने गरेको छ भने काठमाडौमा भीड नियन्त्रण गर्न लाठ्ठी चार्ज नै गरेको थियो ।

सन २००८ देखि इपीएस अन्र्तगत विदेशी कामदार लिन थालेको कोरियाले अहिलेसम्म करिब २३ हजार नेपाली कामदारलाई कोरिया भित्रयाईसकेको छ ।श्रम मन्त्रालय अन्तर्गतको ईपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाका अनुसारसन् २०१४ मा कोरियाले विभिन्न १६ मुलुकका ५३ हजार विदेशी कामदार लिने भएको छ । गतवर्ष ६४ हजार कामदार लिएको थियो ।

नेपालले अघिल्लो वर्ष ५ हजार ९ सय कामदारको कोटा पाएकोमा यो वर्ष घटेर ५ हजार ७ सय पाएको छ । यो वर्ष ईन्डोनेशियाले सबैभन्दा बढि ६ हजार र दोश्रोमा नेपालले ५ हजार ७ सय पाएको बास्तोलाले बताउनुभयो । नेपालले पाएको कोटा निर्माण क्षेत्रमा मात्र हो भने कृषिमा थप कामदार जान पाउँछन् ।