देश बलियो बनाउन सबै जाति एक हुनुपर्ने


पोखरा, २९ साउन

२० औं आदिवासी दिवसको सन्दर्भ पारेर क्षत्री समाज नेपाल कास्कीले रक्तदान, स्वागत र बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापाले देशलाई बलियो बनाउन सबै जातजाति एक भई साझा रुपमा आरक्षण मुक्त हुन सके मात्र भावी सन्ततीले गर्व गर्न सक्ने देश हुने बताउनुभयो ।

कार्यक्रममा क्षत्री समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्रीले राष्ट्रिय अखण्डता र जातिय सद्भावको निमित्त सबै क्षत्री एकभई अन्य जातिलाई समेट्न सक्नुपर्ने बताउनुभयो ।

समाजका पूर्व महासचिव एवं सभासद् कुमार खड्काले आफूले सधैं जातियताको नाममा भए गरेका र अब हुन सक्ने विचारलाई खबरदारी गरेको र यसमा अन्य पार्टीले समर्थन गरेको बताए । समाजका सल्लाहकार एवं सभासद् यज्ञ बहादुर थापाले आफ्नो पार्टीले सधैं संघीय राज्य स्वीकार गरेको तर जातियताको विरोध गरेको र अब बन्ने संविधानमा जातियताको कुरा नहुने बताउनुभयो ।

संविधानसभाका सदस्यद्वय यज्ञ बहादुर थापा, कुमार खड्का, विभिन्न कार्यालयका प्रमुखहरु, पूर्व केन्द्रीय समितिका पदाधिकारीहरु, कार्यालय सचिव लक्ष्मी अधिकारी, हुक कुमार रानाभाट लगायतलाई सम्मान गरिएको थियो । क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष पदम बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सोही दिवसकै अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रमको उद्घाटन पूर्व केन्द्रीय अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्रीले गरेका थिए । कार्यक्रममा समाजका महासचिव रोमबहादुर भण्डारीले समाजले सामाजिक उत्तरदायित्वमूलक कार्यक्रममा जोड दिएकोले देशव्यापी रक्तदान, वृक्षारोपण कार्यक्रमहरु भएको बताउनुभयो ।