पोखराको लेकसाइड राति २ बजेसम्म खुल्ने


पोखरा, २८ साउन – पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडका रात्रिकालीन व्यवसायहरु राति २ बजेसम्म खुल्ने भएका छन् । डिस्को लगायत रात्रिकालीन व्यवसाय रातिको २ बजेसम्म चल्न दिन पुनरावेदन अदालत पोखराले आदेश दिए पछि सन्चालनमा आउने भएका हुन् । अहिलेसम्म राति ११ बजे सम्म प्रहरीले रेस्टुरेन्ट, बार र डिस्कोहरु चल्न दिने गरेको थियो ।

न्यायाधीश डिल्लीराज आचार्य र महेश पुडासैनीको इजलासले जिल्ला प्रशासन, प्रहरी र क्षेत्रीय प्रशासनका नाममा आदेश जारी गरेको हो । साउन २१ गते न्यायाधीशद्वयले उक्त आदेश दिएको अदालतका रजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

लेकसाइडको ओजन डिस्कोका सञ्चालक महेन्द्र गुरुङले राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाऊँ भनी गएको जेठ १८ गते पुनरावेदन अदालत पोखरामा रिट निवेदन दायर गरेका थिए ।