प्रहरीले उजुरी लिन नमानेपछि चरीका आफन्त अव सर्वोच्च अदालत जाने,चरीको शव सडक्ने अवस्थामा


काठमाडौं, साउन २७-

गुन्डानाइके दिनेश अधिकारी चरीको सुनुयोजित रुपमा हत्या गरेको भन्दै उनका आफन्तजनले गृहमन्त्री सहित ८ जना प्रहरी अधिकृत विरुद्द दिएको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको छ । हनुमानढोका प्रहरी कहाँ जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको चरीका दाजु ध्रुवअधिकारीले जानकारी दिए ।

मंगलबार उजुरी लिएर जिल्ला प्रहरी कार्यालय हनुमान ढोका पुगेका चरीका आफन्तलाई प्रहरीले उजुरी दर्ता नगरी फर्काइदिएको हो । ‘भाइको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै उजुरी दर्ता गराउन हनुमान ढोका पुगेका थियौं’, चरीका दाजु धु्रब अधिकारीले भने, ‘हनुमान ढोकाले डिआईजीको कार्यालय रानीपोखरी जानु भन्यो, त्यहाँ पनि हाम्रो उजुरी दर्ता भएन ।’
जाहेरी दर्ता गर्न नमानेपछि चरीका आफन्तजन र प्रहरीबीच केहिबेर भनाभनसमेत छ । उनीहरुले गृहमन्त्री वामदेव गौतम, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल,महानगरीय आयुक्त कार्यालयका डिआइजी विज्ञानराज शर्मा,काठमाडौं प्रहरी प्रमुख उत्तमकुमार कार्की,अपराध अनसन्धान महाशाखाका एसएसपी पुष्कर कार्की,डिएसपी मिरा चौधरी र इन्सपेक्टर कुमुद ढुंगेलविरुद्ध हनुमानढोकामा जाहेरी दिन लागेका थिए ।

हनुमान ढोकाले उजुरी लिन नमानेपछि आफूहरु अव सर्वोच्च अदालत जाने अधिकारीले चेतावनी दिए । प्रहरीले चरीलाई सुनुयोजित रुपमा इन्काउन्टर गरेको भन्दै उनीहरुले छानविनका लागि उच्चस्तरीय छानवीन समिति गठन गर्न माग गरेका छन् ।

प्रहरीले चरीलाई गत बुधबार काठमाडौंको भीमढुंगामा इन्काउन्टरमा मारेको दाबी गर्दै आएको छ । मृत्यु भएको एक हप्ता हुदाँ समेत उनका आफन्तजनले शव बुझ्न अस्विकार गरेपछि चरीको शव सडक्ने अवस्थामा पुगेको शिक्षण अस्पतालले जनाएको छ । पोष्टमार्टम गर्नुअघि चरीका आफन्तजनले हस्ताक्षर नगरेपछि उनको पोष्टमार्टम समेत हुन सकेको छैन् । चरीको शव अहिले शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।