उपाध्यक्ष विजय सुब्बासहित तीन नेताले संघीय समाजवादी छाडे


काठमाडौं ,साउन-

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका उपाध्यक्ष विजय सुब्बाले पार्टी परित्याग गरेका छन् । उनीसँगै सचिव एवं संघीय समाजवादी महिला संघकी अध्यक्ष मीना गुरुङ र केन्द्रीय सदस्य चन्द्रलाल केप्छाकी मगरले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । ‘पार्टी अध्यक्षले पुरानै कार्यशैली अपनाउनु भयो, पार्टी सच्याउनेतिर जाने देखिएन’ एक नेताले भने ।
हालै बसेको केन्द्रीय समितिको बैठकमा समेत असन्तुष्ट नेताहरुको कुरा सुनुवाइ नभएको उनीहरुको आरोप छ ।

विचार निर्माण र त्यसलाई स्थापित गर्ने सवालमा कमजोरी भएको, नेतृत्वको कार्यशैली र व्यवहारमा सुधार नआएको र पार्टी निर्माण अपारदर्शी भएको भन्दै नेताहरुले त्यसलाई सुधार्न असफल भएकाले पार्टी परित्यागको निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसअघि समानुपातिक सभासद छनोटलाई लिएर सुरु भएको विवादका क्रममा पनि उपाध्यक्ष सुब्बा निश्कृय बसेका थिए । तर, अध्यक्ष राईले आफू सच्चिने र सबैलाई जिम्मेवारी दिएर अघि बढ्ने बताएपछि उनी काममा फर्किएका थिए ।
स्थापना कालका उपाध्यक्ष गोपाल ठाकुरसहितका मधेसका नेताहरुले पनि संघीय समाजवादी छाडिरहेका छन् भने रिजवान अन्सारी पनि पार्टीमा निश्कृय छन् ।
स्रोतका अनुसार संघीय समाजवादी छाडेका नेताहरु फेरि एमाले फर्कने सम्भावना छ ।