कल्याण शेरचन स्मृति प्रतिष्ठानको अध्यक्षमा ह्योल्मो


माधव बराल
पोखरा, २५ साउन
कल्याण शेरचन स्मृति प्रतिष्ठान पोखराको आज भएको दोस्रो अधिवेशनले पूनः क्याप्टेन पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ज्ञानबहादुर थापा, सचिवमा सृजन गुरुङ, सहसचिवमा डिबी नेपाली, कोषाध्यक्षमा प्रदीप गौचन रहनुभएको छ ।

समितिको सदस्यमा कमल गुरुङ, अशोक शेरचन, तेज केसी, जगबहादुर गुरुङ, गजेन्द्र गौचन, धर्मा गुरुङ, ईश्वरी थापा र शुशीला गुरुङ रहनुभएको निर्वाचन अधिकृत तथा पोखरा उपमहानगर पालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै पूर्व क्षेत्रीय शिक्षा निर्देशक योगेन्द्रबहादुर बस्नेतले कल्याण शेरचनले देखाएको बोटालाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने बताउनुभयो ।
बरिष्ठ चलचित्रकर्मी तथा प्रतिष्ठानका संरक्षक चेतन कार्कीले लोक संस्कृतिको जर्गेनामा शेरचनको अतुलनीय योगदान रहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वर्गिय शेरचनले लोक संस्कृतिको जर्गेनाको साथै समाज देखिएको विकृति विसंगित रोक्न निडर भएर उभिएको स्मरण गर्नुभयो ।

पर्यटनविद तथा संस्थाका सल्लाहाकार झलक थापाले कल्याण शेरचन पोखरालाई कलाको माध्यमबाट सिर्गाने कलाकार भएको बताउनुभयो । प्राज्ञ तथा बरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले शेरचन बहु आयामिक व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो ।प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ह्याल्मोको अध्यक्षतामा भएको थियो ।