लोलुफेरा पदयात्राको तयारी तिव्र


पोखरा, २२ साउन

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने तथा पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन विकासको लागि शुरु गर्न लागिएको लोलुफेरा पदयात्राको तयारी तिव्र पारिएको छ ।

भदौ १ गतेदेखि पोखराबाट शुरु हुने पदमार्गको लागि विभिन्न तयारी भैरहेको हो । फेवातालदेखि बागलुङको ढोरपाटन हुदै रारातालसम्म र लुम्बिनीदेखि मुस्ताङको लोमान्थाङसम्म पदयात्रा शुरु हुनेछ । विश्वशंकर पालिखेको संयोजकत्वमा रहेको समितिले पदयात्राको तयारी गरिरहेको छ ।

लोलुफेरा विकास मञ्च नेपालको नेतृत्वमा हुने पदमार्गमा पर्यटन व्यवसायी, सरकारी, गैरसकारी तथा उद्योगी व्यवसायीले सघाएका छन् । विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर भैरहेको तयारी बारेमा जानकारी दिईयो । अगुवा कृष्ण के.सीले दमायात्राको तयारी तिव्र पारिएको जानकारी दिए । ‘पोखराबाट शुरु हुने भएकाले यसको तयारी अघि बढिरहेको छ’ उनले भने, ‘पर्यटन प्रबद्र्धन गरि बढि भन्दा बढि पर्यटक भित्र्याउने उद्देश्यका साथ पदयात्रा शुरु गर्न लागिएको हो ।’

सगरमाथाका सफल आरोहि तथा एमाओवादीका युवा नेता के.सीको अगुवाइमा पदयात्रा शुरु हुनेछ । भदौ १ गतेदेशि शुरु हुने पदयात्रा झण्डै डेड महिनाको हुनेछ । पदयात्रामा पर्यटन, सञ्चार, विकास निर्माण लगायतका अन्य विज्ञहरुको पनि सहभागिता रहनेछ । भदौ १ गते हुने पदयात्रा शुभारम्भमा राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यता र अन्य मुख्य राजनीतिक पार्टीका प्रमुखको सहभागिता हुने बताइएको छ । कार्यक्रम फेवाताल किनारमा हुनेछ ।

उद्घाटन कार्यक्रममा क्रिकेटका राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रविधिविज्ञ महाविर पुनलाई सम्मान गर्ने कार्यक्रम छ । जहाँ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी), बरिष्ठ जनकलाकार जीवन शर्मा, कलाकारहरु बद्री पंगेनी, बि.बि.अनुरागी, हेमन्त शर्मा, ऋषि लामिछाने लगायतका कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।

‘नयाँ पदमार्ग पहिल्याएर पर्यटन वृद्धि गराउनको लागि पदयात्रा शुरु हुनेछ’ के.सीले भने, ‘फेवातालदेखि बागलुङको ढोरपाटनहुदै राराताल र लोमान्थाङदेखि लुम्बिनीसम्मा पैदल हिडेर नयाँ पर्यटकीय पदमार्ग विकास गर्न अभियान थालिन लागेको हो ।’ नयाँ पर्यटकीय स्थानहरुको पहिचान गरेर पर्यटनका लागि विकास गर्न मद्दत गर्ने र अन्य पूर्वाधारहरु निर्माण गर्ने तथा पैदल मार्ग बनाउने उद्देश्य रहेको छ । कास्की, पर्वत, बागलुङका विभिन्न गाउँमा होमस्टे विकास गर्ने लगायतको कार्ययोजना रहेका छन् ।

के.सीले युवाहरुलाई गाउँमै उद्यमी बन्न तथा रोजगारीका अवसर उपलब्ध गराउन पहल गरिने बताए । लोलुफेरा पदमार्गले पर्यटन प्रबद्र्धनमा ठुलो भुमिका खेल्ने भएकाले सफल पार्न आफुहरु जुट्ने पोखरेली पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्ने नेपाल पर्यटन बोर्डका वर्तमान र निवर्तमान कार्यकारी सदस्यहरुले पोखरा सहित पश्चिम क्षेत्रको पर्यटन विकासमा लोलुफेरा यात्राले सहयोग पु¥याउने भएकाले सफल पार्न आफुहरु लागिरहेको बताए ।

बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले अभियान पर्यटनको लागि ब्राण्ड नै हुने भन्दै सफल पार्न सबै पर्यटन व्यवसायीले सक्दो सहयोग गर्नुपर्ने बताए । पूर्व सदस्यहरु अग्नी सापकोटा, बासु त्रिपाठी र गणेशबहादुर भट्टराइले पोखरालाइ पर्यटनको हब बनाउन पदयात्राले भुमिका खेल्ने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष सुर्यबहादुर भुजेलले पदमार्ग पर्यटनमा नयाँ गन्तव्य बन्ने अपेक्षा गरे । पत्रकार सम्मेलनको सञ्चालन पत्रकार महेशकुमार खातीले गरेका थिए ।