पत्रकार पराजुली र एरेञ्जर गुरुङ सम्मानित


पोखरा, २२ साउन

अग्रज पत्रकार गंगाधर पराजुली र म्युजिक एरेञ्जर तेजेन्द्र गुरुङ पोखरामा विहिबार सम्मानित भएका छन् । पत्रकारिता मार्फत लोक गीतसंगीतमा महत्वपूर्ण योगदान दिएको भन्दै पराजुली र दश हजार बढि गीतमा म्युजिक एरेञ्ज गरी संगीतमै जीवन अर्पण गरेका गुरुङलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकीले बार्षिक साधारणसभाको अवसरमा दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । यस्तै, प्रतिष्ठानमा रहेर उत्कृष्ट कार्य गरेवापत प्रतिष्ठान, गण्डकी सदस्य सुरेन्द्र लामिछाने र कास्की सदस्य दधिराम सुवेदीलाई पनि सम्मान ग¥यो ।

कार्यक्रममा बोल्दै नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द शर्माले लोक दाहोरी बिकास बोर्ड गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै दोहोरी गीत प्रतियोगितालाई व्यवस्थित र सहज बनाउन राष्ट्रिय खेलकूद परिषद्मा अन्य खेलकूद संघजस्तै हैसियत रहने गरी दर्ताका लागि प्रक्रिया अघि बढाईएको जानकारी दिए । उनले पोखरा उपत्यका नगर विकास समितिले लोकदोहोरी संरक्षणमा जुटेको प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउन माग गर्दै भवन निर्माणमा कुनै समस्या नरहने जनाए ।

‘नयाँ प्रविधि सँगसँगै नयाँ पुस्ताको जोश र जाँगर समेट्न सकेको अवस्थामा मात्र लोक दोहोरीको स्तरोन्नति हुन्छ ।’ उनले भने– ‘काठमाडौंमा गीत रेकर्ड गराउने मात्र राष्ट्रिय गायक हुने तर बाहिर रेकर्ड गराएका गायक राष्ट्रिय कलाकार नहुने भन्ने मानसिकता गलत छ । राष्ट्रिय कलाकार भएर स्थापित हुनको लागि त्यस अनुसारको गीतको स्तर हुनुपर्छ ।’ उनलेसंस्थापक अध्यक्ष अमर विरही गुरुङ त्यसपछि प्रजापति पराजुली, दुर्गा रायमाझी र पुरुषोत्तम न्यौपाने नेतृत्वले प्रतिष्ठान यो अवस्थामा आएको भन्दै आभार व्यक्त गरे ।

प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले बजारमा पछिल्लो समयमा तीजे गीतका नाममा निस्केका गीतहरुलाई मिडियाले नबजाउने, दर्शकश्रोताले नहेरिदिने नसुनिदिने हो भने आफैं विलिन भएर जाने हुँदा विकृतिलाई सबैले प्रश्रय दिईरहेको बताए । उनले सम्मानित व्यक्तित्व तेजेन्द्र गुरुङको चर्चा गर्दै सधैं पर्दा पछाडी रहेर चर्चामा आउन नचाहने मुलुककै उत्कृष्ट एरेञ्जर भएको बताए । दुई दशक अघि नै दोहोरी साँझ खोल्ने पहिलो व्यक्ति आफू भएको दाबी गर्दै पराजुलीले कलाकारको अवस्था दयनीय रहेकाले कलाकारको आर्थिक अवस्था सुदृढ गर्नको लागी रोयल्टीको बिषय उठाईरहेको उल्लेख गरे ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपानेले गण्डकी अञ्चलबाट प्रतिष्ठान लोकगीतको क्षेत्रमा देशकै उत्कृष्ट क्षेत्र रहेकाले आगामी दिनमा पनि यस्तै बर्चस्व कायम राख्नुपर्नेमा जोड दिए । लोक गीतमा भित्रिएको विकृतिप्रति गम्भिर आपत्ति प्रकट गर्दै उनले कलाकार आफै सुध्रिएर जान आग्रह गरे ।

प्रतिष्ठानका केन्द्रिय महासचिब रमेश बिजीले नेपालमा लोकगीत प्रतियोगिताहरु कम हुने गरेकोमा दुःख प्रकट गर्दै केन्द्रको पनि ध्यान नपुगेकोस्वीकारे । वर्तमान अवस्थामा तीजका गीत भन्दै रत्तायौली पारका गीत निक्लने क्रम बढेकाले ब्यापारका लागी गीत संगीतलाइ ननंग्याउन आग्रह समेत गरे ।

सम्मानित व्यक्तित्व गंगाधर पराजुलीले यो सम्मानले आफूलाई कामप्रति थप लगनशील भएर अघि बढ्न प्रेरणा मिलेको बताए । उनले नयाँ पुस्तालाई सम्मान गरे भोलिका दिन सुखद रहने भन्दै सञ्चारमाध्यम संरक्षण र सबलिकरण भएमात्र पत्रकारिता पेशा सुरक्षित हुने बताए ।

कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला सचिब दामोदर बैरागी, नेपाली कागें्रस कास्कीका जिल्ला सदस्य गिरीराज गौतम, एनेकपा माओबादी कास्कीका जिल्ला सदस्य राजेन्द्र न्यौपाने, पोखरा सिटी रेवानका केपी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघका नेत्रपाणी बास्तोला, प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ, प्रतिष्ठान स्याङ्जाका अध्यक्ष अर्जुन गैरे लगायतले मौलिक गीत संरक्षणको खाँचो औंल्याए । प्रतिष्ठान गण्डकी अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको साधारणसभामा महासचिव घनश्याम रिजालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माया गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव घनश्याम रिजाल र सचिव सुरेन्द्र गुरुङले गरेका थिए ।