चर्चित डन ‘चरी’ मुठभेडमा मारिए


२१ साउन, काठमाडौं
चर्चित डन दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएका छन् । बुधबार अपराहृन प्रहरी टोलीसँग काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा भिडन्त भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख (एसएसपी) पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका छन् । ‘संकास्पद ब्यक्ति हतियारसहित मोटरसाइकलमा हिडेको भन्ने सूचनाका आधारमा प्रहरीले पिछा गरेको थियो’ एसएसपी कार्कीले भने-’प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायर गर्दा उनी ढले, ढलेपछि मात्रै उनी चरी हुन भन्ने थाहा भयो ।’
उनका अनुसार चरीमाथि प्रहरीले आठ राउण्ड गोली हानेको थियो । उनको पेट र छातीमा गोली लागेको छ । मोटरसाइकलमा सवार चरी गोली लागेपछि सडक किनारमा ढलेका थिए ।
चरीले हानेको गोली लागेर एक प्रहरी पनि घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले उनले प्रयोग गरेको पेस्तोल र गोली बरामद गरेको छ ।
सञ्चारकर्मीहरु घटनास्थल पुग्दा प्रहरीले मुचुल्का उठाइरहेको थियो । कपाल खौरिए र हातमा स्थायी ट्याटु बनाएका चरीको पेटमा रगतका टाटा देखिन्थे । प्रहरीले पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगेको छ ।
धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि फारर थिए । भारत र सिंगापुर बसेर केही दिनअघि मात्रै उनी काठमाण्डौं छिरेको सुइँको पाएपछि प्रहरीले खोजी तिब्र बनाएको थियो ।
को हुन् चरी ?
धादिङ घर भएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्व उपाध्यक्षसमेत हुन् । एमाले नेता केपी ओलीको संरक्षण पाएपछि चरी सार्वजनिक चर्चाको बिषय बनेका थिए । राधे समूहले गोली हानेपछि अस्पतालमा उपचार गराईरहेका चरीलाई भेटन पुगेका ओलीले चरीको पक्षमा खुलेर वकालत गरेका थिए ।
अहिले एमाले नेताहरु उनीसँग सम्बन्ध तोडिसकेको बताउँछन् । चुनावमा एमाले प्रचारमा लागेका चरी ६ महिनायता एमाले नेताहरुको सम्पर्कमा नरहेको उनीहरुको दावी छ ।
काठमाडौंको बालाजु र नयाँबजार क्षेत्रलाई अपराधिक केन्द्र बनाएका चरीले यापारीहरुसँग जवरजस्ती रकम असुली, ठेक्कापट्टा कब्जा र गैँडाको खाग तस्करी गर्ने गरेको प्रहरीको आरोप छ । दुई वर्षअघि गैँडाको खाग तस्करी गरेको अभियोगमा प्रहरीले चरीलाई काठमाडौंको बालाजुस्थित एक गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।
एमाले धादिङ क्षेत्र नं. १ का उपाध्यक्ष भएकै बेला पक्राउ परेका चरीलाई राजनीतिक दबावमा मुक्त गराएका थिए । काठमाडौंमा रमेश खरेल प्रहरी प्रमुख बनेर आएपछि भने चरी भागेर सिंगापुर र भारतस्म्म पुगेका थिए । खरेलका पालमा उनलाई मोस्ट वान्टेडको सूचीमा राखेर खोजी भइरहेको थियो ।
६ महिनाअघि धादिङकै गुण्डा नाइके राधे भण्डारीसँग उनको झगडा भएको थियो । कुनै समयमा उनकै ग्याङमा रहेका भण्डारीले चरीलाई गोली हानेका थिए । त्यसको बदालामा चरीले भण्डारीलाई खुकुरी हानेपछि प्रहरीले खोजी थालेको थियो ।
नुवाकोटका व्यापारीहरसँग धम्क्याएर असुलेको २१ लाख रुपैयाँको चेक र अवैध हतियारसहित पक्राउ पर्दा पनि एमाले नेतृत्वकै दबावमा केही सार्वजनिक अपराधको अभियोग लगाएर उन्मुक्ति दिइएको थियो ।