दल, नेता र शक्ति केन्द्रको प्रभावमा नपरी काम गर्न सुरक्षा नियकालाइ गृह मन्त्रीको निर्देशन


पोखरा, २२ साउन

तत्कालिन काठमाडौका प्रहरी प्रमुख रमेश खरेल आफुलाई भेट्न नआएको भन्दै सार्वजनिक कार्यक्रममा आक्रोश पोखेर आलोचित बन्नुभएका, उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले कुनै राजनीतिक दल, नेता तथा शक्ति केन्दको प्रभावमा नपरी काम गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । पश्चिमाञ्चलको क्षेत्रीय सुरक्षा गोष्ठीको बुधबार पोखरामा उद्घाटन गर्दै मन्त्री गौतमले जनताकोे मन जित्ने गरी निष्पक्ष रुपमा पदीय जिम्मेवारी दृढताका साथ पुरा गर्न सुरक्षा अधिकारीलाई आग्रह गर्नुभयो ।
“शान्ति, सुरक्षा समान्य देखिएपनि चुतौति धेरै नै छन्” गौतमले भन्नुभयो,“जिल्लामा शान्ति सुव्यवस्थामा सुधार देखिने र जनताले न्यायको अनुभुति गर्ने गरी कार्य योजना बनाई कार्य सम्मपादन गर्न सबै सुरक्षा अधिकारीलाई आग्रह गर्दछु ।” मन्त्री गौतमले अपराधिक प्रबृत्तिले टाउको उठाउन नदिन, कानुन वमोजिम निर्मम कारवाही अभियान चलाउन पनि सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
गौतमले नेपाल प्रहरीलाई सेवाग्रही मैत्री बनाउन थालिएको मुस्कान सहितको प्रहरी सेवा अभियानलाई नारामा मात्र सिमिति नगरी व्यवहारबाट देखिन जरुरी रहेको र त्यसलाई अन्य सरकारी कार्यालयमा विस्तार गर्न सके राम्रो हुने बताउनुभयो । करिव १७ मिनेटको लिखित भाषणमा गृहमन्त्री गौतमले यस वर्षमा नै स्थानीय निकायको निर्वाचन गराउन मन्त्रालयले नीति तथा कार्यक्रम केन्द्रीत गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो,“जनप्रतिधिमुलक संस्था मार्फत विकास निर्माणको कार्यलाई अगाडि बढाउँदै लोकतन्त्रलाईं अझ सुदृढ गर्ने उद्देश्य मन्त्रालयले लिएको छ ।” राजनीतिक परिर्वतनलाई संस्थागत गर्न आगामी माग भित्र संविधान जारी गर्ने वातावरण मिलाउन नेपाल सरकार कटिवद्ध रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा गृहमन्त्रालयका सहचिव तथा सुरक्षा महाशाखाका प्रमुख, लक्ष्मीप्रसाद ढकालले पश्चिमाञ्चल क्षेत्रका जिल्लाहरुको शान्ति सुरक्षाको अवस्था, सेवा प्रवाहको बारेमा गोष्ठीमा छलफल हुने बताउनुभयो ।उहाँले जिल्ला स्तरको समस्याको पहिचानको साथै त्यसको निराकण र भावी सुरक्षा रणनीति बनाउनको लागि गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो । गोष्ठीमा आएका सुझावले सुरक्षा रणनीति बनाउन पृष्टपोषण गर्ने भनाई उहाँको छ ।गोष्ठीको उद्घाटन सत्र गृह सचिव सुर्यप्रसाद सिलवालको अध्यक्षतामा भएको थियो ।
प्रत्येक वर्ष हुँदै आएको क्षेत्रीय गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, पश्चिमाञ्चल १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी र अनुसन्धनका प्रमुख लगायत करिव ८० जनाको सहभागिता रहेको छ । गोष्ठीमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षा अवस्था बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।