विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले एम्बुलेन्स संचालन गर्ने


माधव बराल
पोखरा, २२ साउन

विन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समिति पोखराले एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । नियमित आयको स्रोत जुटाउन र शुभल सेवा दिन समितिले एम्बुलेन्स संचालनको तयारी गरेको हो ।एम्बुलेन्स सेवा संचालनका लागि मन्दिर परिसरमा निर्माण गरिने एम्बुलेन्स सेवा भवनको आज शिलान्यास गरिएको छ ।

२० लाखको लागतमा निर्माण गरिने भवनको पोखरा उप—महानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले शिलान्यास गर्नुभयो ।उक्त भवन निर्माणमा ओम फाइनान्सले १५ लाख सहयोग गरेको छ ।उक्त रकमको चेक फाइनान्सका अध्यक्ष सुशील गोसलीले विन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिका अध्यक्ष गणेबहादुर श्रेष्ठले शिलान्यास कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।पोखराको प्रतिष्ठित लक्ष्मी गु्रप अन्र्तगत रहेको लक्ष्मी हुण्डाइले धार्मिक क्षेत्र बिकास समितिलाइ एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

शिलान्यास कार्यक्रममा कार्यकारी अधिकृत अधिकारीले पोखरामा रहेको धार्मिक क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धन गर्न नगरपालिका लागि परेको बताउनुभयो ।उहाँले विन्ध्यवासिनी मन्दिरको पुर्वाधार विकासमा पनि नगरपालिकाले सहयोग र साझदारी गर्ने प्रतिवद्धता गर्नुभयो । अधिकारीले मन्दिर परिसरमा रहेको खानेपानी संस्थानको पानी ट्याङकी पनि जग्गाको विकल्प खोजेर सार्ने निर्णय भएको जानकारी दिनुभयो ।

ओम फाइनान्सका अध्यक्ष शुसील गोसलीले विन्ध्यवासिनी क्षेत्र विकास समितिको पवित्र कार्यमा सहयोग गर्न पाएको खुशी व्यक्त गर्दै अरुलाई दुःख दिनु नै पाप र सुख दिनु धर्म भएको बताउनुभयो ।लक्ष्मी हुण्डाइका निर्देशक सुनील श्रेष्ठले भन्सार कर बाहेक ३० लाखको अत्याधुनिक एम्बुलेन्स समितिलाई उपलब्ध गराईने बताउनुभयो ।पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाले समितिले गर्न लागेको सामाजिक कार्यमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष योगेन्द्र प्रधानले समितिको नियमित आय स्रोत जटाउन एम्बुलेन्स सेवा संचालन गर्न लागेको बताउनुभयो ।

समितिका सचिव तीर्थ श्रेष्ठले एम्बुलेन्स सेवा भवन नगरपालिका बनाएको सडक मापदण्ड भन्दा ६ फीट बढि जग्गा छाडेर निर्माण गरिने बताउनुभयो ।भक्तजनको भीड हुदाँ पनि ट्राफिक व्यवस्थापनमा असर नपरोस भनेर ६ फिट बढि जग्गा सडकपट्टी छाडिने बताउनुभयो । भवनमा केही सटर निर्माण गरिने र सटरको भाडा एम्बुलेन्स संचालनमै खर्च गरिने भनाइ उहाँको छ ।

श्रेष्ठका अनुसार सरकारले विन्ध्यबासिनी मन्दिरको पूर्वाधार निर्माणमा यो आर्थिक बर्षमा ६० लाख रकम बजेट विनियोजन गरेको छ।शिलान्यास कार्यक्रममको अध्यक्षता गर्नु भएका समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले समितिले सस्तो, शुलभ एम्बुलेन्स सेव उपलब्ध गराउने बताउनुभयो ।लक्ष्मी ग्रुपका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले भन्सार छुट गराएर एम्बुलेन्स ल्याउने प्रक्रिया अगाडि बढेको पनि जानकारी गराउनुभएको थियो ।