ट्याक्सी व्यवसाय समिति पोखराको साधारणसभा


पोखरा, २२ साउन

यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख देवीराम भण्डारीले उपभोक्ताका हितलाई मध्यनजर गर्दै सेवा सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । ट्याक्सी व्यवसाय समिति पोखराको ३४ औं महासमिति बैठक एवं वार्षिक साधारणसभा उहाँले वैज्ञानिक भाडादर निर्धारण सम्बन्धमा समितिले प्रतिवेदन पठाईसकिएको जानकारी दिँदै यातायात व्यवस्था विभागले चाँडै नै निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता समेत गरेका समितिका अध्यक्ष गान्धीराज गिरीले पेट्रोलको नयाँ मूल्य अनुसार भाडा समायोजन नभएसम्म कुनै हालतमा पोखराका ट्याक्सी मिटरमा गुड्न नसक्ने बताउनुभयो ।अध्यक्ष गिरीले पोखरामा १८ किमि क्षेत्र मात्र हाईवे भएकाले सो बाहेक अन्य सडक खण्डमा मिटरमा हिँड्नै नसक्ने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेस, कास्कीका सचिव कृष्ण केसीले यातायात क्षेत्र सिण्डिकेट लाद्ने क्षेत्रका रुपमा चिनिएपनि अन्य देश र नेपालको सन्दर्भमा फरक भएको बताउनुभयो ।नेकपा एमाले कास्कीका सचिवालय सदस्य नारायण बास्तोलाले व्यवसायी पनि नमर्ने र उपभोक्ता पनि नठगिने हिसाबले मिटर कार्यान्वयनमा जोड दिनुभयो ।एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोईराला रुपकले नेपालको कानुन नै फितलो बन्दा यातायात मात्रै होईन हरेक क्षेत्रमा समस्या आएको बताउनुभयो ।

अखण्ड नेपाल कास्कीका टेकन गिरीले पोखराको यातायात क्षेत्रमा सिण्डिकेट नै नभएको दाबी गर्नुभयो ।कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, गण्डकीका संयोजक सिंहबहादुर कार्की, गण्डकी धौलागिरी सार्वजनिक यातायात समितिका संयोजक बसन्त प्रधान, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष रुद्र गौतम, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, समितिका संस्थाप अध्यक्ष अशोककुमार थापा, नेपाल यातायात मजदुर संघ कास्कीका जीत गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, गण्डकीका विष्णु केसी, अखिल नेपाल यातायात मजदुर संघ कास्कीका सूर्यमणि लामिछाने, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, उपभोक्ता मञ्च कास्कीका सचिव राजु अधिकारीले बोलेका थिए ।वरिष्ष्ठ उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पूर्ण बहादुर गुरुङले गर्नुभएको थियो ।