२० औं विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम जारी


पोखरा, २० साउन

२० औं विश्व आदिवासी दिवस अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सोमबार पनि जारी रÞयो ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति, कास्की र राष्ट्रिय उच्च मावि समन्वय समितिको संयुक्त आयोजनामा ‘संघीय शिक्षा प्रणाली’बारे प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्यसचिव लोकबहादुर थापामगरले नेपाललाई विदेशी शक्तिले शैक्षिक प्रयोगशाला बनाएको उल्लेख गर्नुभयो ।

आदिवासी जनजातिका मातृभाषामा शिक्षा पाउने अधिकारलाई राज्यले कुण्ठित गर्न नपाउने उल्लेख गर्दै उहाँले बहुभाषिक शिक्षा निर्देशिका जारी भएको भएपनि राज्यले कार्यान्वयनमा कुनै चासो र सक्रियता नदेखाएको बताउनुभयो ।

कुनै पनि मातृभाषामा अथाह ज्ञानको भण्डार हुने बताउँदै थापामगरले मातृभाषामा शिक्षा पाउने बालबालिकाको अधिकार सुनिश्चित गर्न सम्बन्धित मातृभाषीहरू जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमका विशेष अतिथि एवं प्रशिक्षक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका संस्थापक सदस्य गणेशमान गुरुङले आदिवासी जनजातिको संस्कृति र परम्परालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने उल्लेख गर्दै राज्यले तत्काल मातृभाषाको शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

पहिचानसहितको संघीयता भएमात्र आदिवासी जनजातिलगायतका उत्पीडित समुदायले राज्यमा अपनत्व महसुस गर्न पाउने बताउँदै गुरुङले राज्यका हरेक अंगमा आदिवासी जनजातिको पहुँच र प्रतिनिधित्व पु¥याउन आन्दोलनको विकल्प नभएको समेत बताउनुभयो ।
जिल्ला अध्यक्ष सुजनकुमार तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।